कमिसन एकलौटी बनाउन तीन साझेदारको हत्या

<span class='c1'>कमिसन एकलौटी बनाउन</span> <span class='c2'>तीन साझेदारको हत्या</span>

विराटनगर । साझेदार भनिएको कारोबारमा आउने कमिसन एकलौटी बनाउने उद्देश्यले फरक–फरक स्थान र मितिमा तीनजनाको हत्या गरेको आरोपमा मुख्य योजनाकारलाई मोरङ प्रहरीले सार्वजानिक गरेको छ ।

प्रहरीले शुक्रबार घटनामा संलग्न मुख्य योजना भनिएका सिरहा नगरपालिका–२१ घर भई हाल काठमाण्डौं बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षीय दिनानाथ सोनार र धनपालथान गाउँपालिका–७ का ६२ वर्षीय नासिर आलमलाई सार्वजानिक गरेको हो ।

घटनामा संलग्नहरुलाई सार्वजानिक गर्दै मोरङ प्रहरीका उपरीक्षक जनार्दन जिसीले घटनाका मुख्य योजनाकार मण्डलले सँगसँगै कारोबार गरिरहेका तीनजनालाई हत्या गरेर आउने कमिसन एकलौटी बनाउने उद्देश्य प्रेरित देखिएको बताउनुभयो । तर, प्रहरीले कारोबार बारे स्पष्ट खुलाएको छैन । विभिन्न किसिमका कनेक्सनमा देखिएका चारजनाले कस्तो–कस्तो कारोबार गर्थे भन्ने अहिले नै सार्वजानिक गर्न नमिल्ने प्रहरी उपरीक्षक जिसीले बताउनुभयो । प्रहरीले चारैजनाको वैधानिक नभएर अवैध कारोबारको सञ्जाल रहेको आशंका गरेको छ ।

घटनामा अन्य केहि व्यक्ति समेत संलग्न रहेका कारण प्रहरीले पक्राउ परेका तीनजनालाई सार्वजानिक गर्दै प्रारम्भिक सूचना दिइएको हो । मुख्ययोजनाकार भनिएका मण्डलले अन्यलाई आर्थिक प्रलोभन देखाएर घटनामा संलग्न गराएको हुनसक्ने बताउनुभयो ।

मोरङको धनपालधान–७ को उखुबारीमा गत माघ १३ र १४ गते खाल्डोमा गाडिएको अवस्थामा राजेन्द्रकुमार श्रेष्ठ र शम्भु कुमार चौधरीको शव फेला परेको थियो । धरान–३ का ४८ वर्षीय श्रेष्ठ र सप्तरी शम्भूनाथ–४ का चौधरीसँगै काठमाण्डौंबाट मंसिर २९ गते विराटनगर आईपुगेका थिए । विराटनगर बसपार्क क्षेत्रका होटलमा बसेका उनीहरुमध्ये श्रेष्ठको हत्या पुस ५ गते र चौधरीको हत्या पुस ७ गते भएको खुलेको छ ।

विराटनगर आउनु एकदिन अगाडी नै तेह्रथुम संक्रान्ति–२ घर भई काठमाण्डौं–८ बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको मंसिर २८ गते हत्या गरिएको संलग्नहरुको बयानका आधारमा खुलेको छ । हत्यापछिको हत्यामा मृतकहरुकै संलग्नता छ वा छैन भन्ने कुरा समेत खुलाएको छैन । काठमाण्डौंमा लिम्बुको हत्या भएको भोलिपल्ट मण्डलसँगै विराटनगरका आएका श्रेष्ठ र चौधरीको त्यो घटनामा संलग्नता भएनभएको केहि बताइएको छैन ।

विराटनगर आईपुगेपछि घटनाका मुख्य योजनाकार मण्डलले घटनास्थल मोरङको धनपालथान–७ का नासिरसँग जहदा गाउँपालिका–४ का दिनानाथमार्फत सम्पर्क बढाएको देखिएको छ । दिनानाथमार्फत नासिर जोडिएका थिए, प्रहरी उपरीक्षक जिसीले भन्नुभयो–धनपालथान–७ कमलपुर जाने नहरमा दुवैजनाको हत्या गरिएको थियो ।

गाडेको स्थानदेखि १०० मिटर उत्तरमा श्रेष्ठको र गाडेको स्थानदेखि १०० मिटर दक्षिणमा चौधरीको हत्या गरिएको थियो । श्रेष्ठलाई नहरमै र चौधरीलाई उखुबारीमा हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले डोरी तथा गाम्छाले घाँटीमा कसेको र हत्यापछि खाल्डो खनेर लासमाथि प्रशस्त आयोडिन नुन छर्केको बताएको छ । चाँडै शव कुहियोस् भन्नका लागि यस्तो गरिएको हुनसक्ने प्रहरीले बताएको छ । प्रहरीले घटनास्थलबाट एकथान कोदालो र ६ प्याकेट नुन समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्