विराटनगर–धरान छलेन सडक : गच्छदारको कदमले दुहबी बजार सधैं अस्तव्यस्त

<span class='c1'>विराटनगर–धरान छलेन सडक : गच्छदारको</span> <span class='c2'>कदमले दुहबी बजार सधैं अस्तव्यस्त</span>

विराटनगर । कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ छलेन सडक विस्तारमा सुनसरीको दुहबी बजार क्षेत्र तगारो बनेको छ । सत्तामा हुँदा विजयकुमार गच्छदारको गलत निर्णयका कारण त्रिदेशिय लाइफलाइन मानिएको छलेन सडकको दुहबी बजार क्षेत्र सधैं साँघुरो नै रहने भएको हो ।

छलेन सडक आयोजना इटहरीले रानी–धरान सडक खण्डको ४९ किलोमिटरमा विस्तारको काम गरिरहेको छ । तर, सुनसरीको दुहबी बजार क्षेत्रको ६२७ मिटर दुरीमा सडक ‘बिल्टअप एरिया’ १६.४६ मात्रै कायम गर्ने निर्णय गरिएका कारण विस्तारमा अल्झन हुने गरेको हो ।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशानालयले सुनसरीको दुहवी बजार क्षेत्रको २ किलोमिटर दुरीका घरटहरा हटाउन यस अगाडी सूचना जारी गरेको थियो । बुढीखोलाको पुलदेखि दुई किलोमिटर क्षेत्रमा हटाउनु पर्ने घरटहरा यस अगाडी सडक ‘बिल्टअप एरिया’ घोषणा गर्ने निर्णयका कारण संभव भएन ।

दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सरकारी निर्णयकै कारण दुई किलोमिटरमध्ये ६२७ मिटर दुरीको घरटहरा खाली गराउन नसकिएको बताउनुभयो । सरकारले २०५४ साल चैत ३ गते दुहबी बजार क्षेत्रको ६२७ मिटर दुरीको सडक ‘बिल्टअप एरिया’ १६.४६ कायम गर्ने निर्णय गरेको थियो । नगरपालिकाका मेयर गच्छदारका अनुसार स्थानीयले अहिले त्यहि निर्णयलाई आधार बनाएर अदालतको सहारा लिएपछि घरटहरा खाली गराउन नसकेको हो ।

सडक ऐन २०३१ अनुसार राष्ट्रिय राजमार्गको मापदण्ड २०३४ सालमा केन्द्रबिन्दुबाट २५–२५ मिटर निर्धारण गरिएको थियो । तर, २०५४ सालमा तत्कालिन भौतिक पूर्वाधार मन्त्री विजयकुमार गच्छदारको सिफारिसमा दुहवी बजारको ६२७ मिटर क्षेत्रलाई ‘बिल्टअप एरिया’ घोषणा गर्दै सडक सीमालाई केन्द्रबिन्दुबाट दाँया–बाँया ८.३–८.३ मिटर निर्धारण गर्ने निर्णय गरिएको थियो ।

छलेन सडक आयोजना इटहरीका प्रमुख बद्रीप्रसाद शर्माले दुहबी बजार क्षेत्रमा ठेक्का लाग्न बाँकी रहेको २००० मिटरमध्ये १३७३ मिटरको घरटहरा खाली भएको जानकारी दिनुभयो । बाँकी बजार क्षेत्रको ६२७ मिटर दुरीमा तत्काल सडक विस्तार नहुने उहाँले बताउनुभयो ।
भारत–नेपाल–चीन जोड्ने त्रिदेशिय लाइफलाइन मानिएको रानी–किमाथाङ्का सडक खण्डको दुहबी बजार क्षेत्र छलेन विस्तारका लागि कानुनी उल्झन बाधक देखिएको छ । अन्तराष्ट्रिय राजमार्गलाई बजार क्षेत्रबाट विस्तार गर्दा बारम्बार समस्या उत्पन्न हुने स्थानीयले बताउँदै आएपनि वैकल्पिक क्षेत्रबाट सडक डाइभर्सन गर्न समेत असजिलो हुँदै आएको छ ।

व्यापारिक राजमार्ग रानी–किमाथाङ्का सडकको पहिलो खण्ड रानी–तरहरासम्मको ३४.६ किलोमिटर दुरीमध्ये ९० प्रतिशत भन्दा बढी क्षेत्रको काम सकिएको छ । दुहबी बजार क्षेत्रको २ किलोमिटरमध्ये खाली भएको १३७३ मिटरको बोलपत्र आह्वानको प्रक्रियामा लगिएको आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो ।
व्यापारिक राजमार्ग आयोजना अन्तर्गत रानी–धरान सडकको ४९ किलोमिटर दुरी छ । रानी–तरहरा ३४.६ किलोमिटर र तरहरा–धरान १४.४ किलोमिटर रहेको छ । तरहरा–धरान सडक खण्डको ९ किलोमिटर दुरीमा समेत अहिले धमाधम काम भईरहेको छ ।

सरकारले दश अर्ब ९८ करोडमा रानी–धरान सडक सम्पन्न गर्ने लक्ष्य राखेको छ । जसमध्ये सात अर्ब ५३ करोडमा रानी–तरहरा र बाँकी रकमबाट तरहरा–धरान सडक खण्ड विस्तार गर्ने योजना राखिएको छ । २०६९-२०७० सालदेखि सुरु भएको आयोजनाले सात किलोमिटर दुरीको ठेक्का सम्झौता अझै गर्न सकेको छैन । त्यो दुहबी बजार क्षेत्रको २ किलोमिटर र धरान बजार क्षेत्रको ५ किलोमिटर हो । यदि यो दुरीमा ठेक्का सम्झौता भए आगामी दुईवर्ष भित्रमा सबै काम सम्पन्न गर्ने आयोजना प्रमुख शर्माको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्