विराटनगर । धरानमा चैत ५ गते देखि ११ गते सम्म छैटौँ हराईजन राष्ट्रिय बास्केटबल कप आयोजना हुने भएको छ ।
हराईजन क्लब धरान-१७ ले पत्रकार सम्मेलन गरी स्वास्थ्यको लागि, शिक्षाको लागि र राष्ट्रको लागि खेलकुद भन्ने मुलनाराका साथ हरेक वर्ष हुँदै आएको बास्केटबल प्रतियोगिता यसपटक चैत ५ गते देखि ११ गते सम्म आयोजना हुन लागेको हो । हराइजाइन क्लबकाे खेलमैदान धरान-१७ मा प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगितामा ८ वटा टिम सहभागी हुने आयोजकले जनाएको छ । जसमा प्रदेश १ को तर्फबाट आयोजक हराईजन क्लब, त्रिभुवन आर्मी, जिल्ला बास्केटबल सङ्घ रुपन्देही, बिर्तामोड बास्केटबल क्लब झापा, विराटनगर बास्केटबल एकेडेमी मोरङ, ब्रर्दश क्लब धरान, रोयल बास्केटबल एकेडेमी काठमाडौँ र टाईम्स बास्केटबल क्लब काठमाडौँ सहभागी हुने भएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफी सहित नगद रु.१ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । भने उपविजेताले रु.५५ हजार ५ सय ५५ रुपैयाँ हात पर्नेछ । गत वर्षको तुलनामा प्रतियोगिताकाे नगद पुरस्कार राशि यसपटक थप गरिएको अध्यक्ष राईले जानकारी दिए । अघिल्लो संस्करणमा प्रथम पुरस्कार रु.१ लाख र उपविजेताको पुरस्कार रु.५० हजार मात्र रहेको थियो ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद रु.११ हजार हातपर्ने छन् । भने उदयीमान खेलाडीले रु.५ हजार हातपर्ने छन् । हरेक खेलको म्यान अफ दि म्याचलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।