लक्षण
- अधिकांशमा उच्च रक्तचापका लक्षण देखा पर्दैनन् । तर, शरीरभित्र असर पुर्याइरहेको हुन्छ । थोरै प्रतिशतमा भने रिंगटा लाग्ने, चिढचिढापन हुने, मुटुको धड्कन र नाडीको गति बढ्ने लक्षण देखिन्छन् । त्यस्तै, कतिपयमा सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने र बेहोस हुनेजस्ता लक्षण देखापर्छन् ।
कारण
-सामान्यतया, अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, तनावयुक्त वातावरण तथा स्वास्थ्यप्रतिको बेवास्ताजस्ता कारणले रक्तचाप बढ्ने गर्छ ।
-कुनै बच्चामा जन्मजात नै नसा साँघुरो हुने समस्या भएमा उच्च रक्तचापको समस्या हुने गर्छ । त्यस्तै रक्तनली कडा भएर साँघुरो हुने समस्या भएमा समेत उच्च रक्तचापको जोखिम हुन्छ । रक्तनलीभित्र बोसो वा कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न नसकेमा रक्तचाप बढ्छ ।
-खानामा नुनको बढी प्रयोग, मसालेदार खानेकुरा, मासु वा बोसोजन्य पदार्थ तथा चिल्लो, अमिलो र पिरो बढी खानाले रक्तचाप बढ्छ । त्यस्तै, पौष्टिक आहार कम खाने मानिसमा पनि उच्च रक्तचापको जोखिम बढ्छ ।
-धुम्रपान–मध्यपान गर्ने मानिसमा उच्च रक्तचाप हुने सम्भावना धेरै हुन्छ । साथै, अत्यधिक चियाकफीको सेवनले पनि रक्तचाप बढाउँछ ।
-तौल नियन्त्रण गर्न नसकेमा अर्थात् मोटोपनाको समस्या भएका मानिसमा पनि यसको जोखिम रहन्छ । त्यस्तै, अनिद्रा, मुटुसम्बन्धी रोग, हार्मोनमा गडबडी र लामो समयसम्म औषधिको सेवन पनि रक्तचापका कारण हुन् ।
-मिर्गाैला, कलेजो, रगत तथा फोक्सोसम्बन्धी रोगका कारण रक्तचाप बढ्ने गर्छ । साथै, वंशाणुुगत गुणका कारणसमेत रक्तचाप बढ्छ ।
बच्ने उपाय:
- उच्च रक्तचापका लक्षण हत्तपत्त देखिँदैन । त्यसैले, यसका रोगीमध्ये अधिकांशको ज्यानै जाने खतरा हुन्छ । तसर्थ, निरोगी मानिसले पनि नियमित रगत परीक्षण गराइराख्नुपर्छ ।
-स्वस्थ जीवनशैली अपनाउनुपर्छ । खानपानमा ख्याल, नियमित व्यायाम, धूम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । तौल तथा तनाव व्यवस्थापन गर्नुपर्छ । लामो समयसम्म औषधिको सेवन गर्दा ध्यान दिने गरेमा उच्च रक्तचापबाट बच्न सकिन्छ ।
-मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो, आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । तसर्थ, यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।