विराटनगर । खाना पकाउने ग्यास र इन्धनको मूल्य वृद्धि गरिएको विरोध गर्दै विराटनगरकाे सडकमा सिलिण्डरसहित प्रदर्शन गरिएको छ ।
मुख्यमन्त्री कार्यालय अगाडि सडकमा ग्यासका सिलिण्डर राखेर विरोध गरिएको हो । विभिन्न सामाजिक अगुवाहरुले मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्याधिक मुल्यवृद्धि गरेको भन्दै खाली सिलिण्डर र प्लेकार्ड बोकेर उपभोक्तावादीहरू सडकमा उत्रिएका हुन् ।
पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले संघीय सरकारले जस्तोसुकै निर्णय गर्दा पनि प्रदेश सरकारले हेरेर मात्रै बसेको आरोप लगाउँदै त्यसैको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्नु परेको ढुंगेलले बताए । उनले पेट्रोलियम र खाना पकाउने ग्यासमा गरिएको मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रह गरेका छन् । सरकारले गरेको निर्णय भएपनि आम उपभोक्ता र नागरिकहरूलाई असर पर्ने गरी गरिएका हरेक निर्णयविरुद्ध प्रदेश सरकारले आवाज उठाउनुपर्ने उपभोक्ताहरूले बताए ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ कायम भएको छ भने डिजल र मट्टितेल प्रतिलिटर १६३ रुपैयाँमा र ग्यासको मूल्य प्रतिसिलिण्डर १८ सय रुपैयाँमा विक्री भइरहेको छ।
अझै एलपीजीमा प्रतिमहिना झन्डै तीन अर्ब रुपैयाँ, डिजेलमा करिब तीन अर्ब ४० करोड र पेट्रोलमा करिब एक अर्ब रुपैयाँ घाटा हुने देखिएको निगमले दाबी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारकै कारणले गर्दा मूल्य वृद्धि गर्न आफूहरू बाध्य भएको निगमले जनाएको छ ।