विराटनगर । वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका–८। ९, १, २, ३ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार अहिले बेलका–८ लाहुरे खोंच डुम्रीबोट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधबार बिहान सप्तकोशी नदीको बाँध फुटेर गाउँ पसेको थियो । जसका असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ डुबानमा परिसकेको छ । नदीको धार पुरानो ठाउँमा फर्कने संभावना रहेको छ, प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो–मानवीय क्षति रोक्न निषेधित क्षेत्र घोषणा गरेर उद्धारको काम भईरहेको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा लागेका छन् । पानीको सतह बढ्दै गएकोले जोखिम देखिएको छ ।
नदी कटानले बहाव गाँउतिर पसेको हो । यदि पानीका सतह बढ्दै गए चार हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ ।
जोखिम क्षेत्रको रेखाङ्कनसँगै त्यहाँका नागरिकलाई सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिनुभयो ।