थाउनाको सिरक भुइँमा खस्यो ,हात दुखेकोले तान्न सकिन , रातभरि नाङ्गै सुतेँ , जाडोले थरथर कामेँ तर निदाउन सकिन बाबू , तिमीहरुले विदेशबाट ल्याएर दराज माथि राखेको त्यो हलुका खालको सिरक देऊ न मलाई । तिमीहरुलाई पनि अर्को छँदैछ क्यारे भन्दै बलिन्द्रधारा अाँसु बगाउँदै थिइन तिलमाया ।
देला तिम्लाई भनेर ल्याको हो र त्यो सिरक , पाहुना अाउँदा हुन्छ भनेर ल्याएको , तिमी पिसाब धान्न नसक्नेलाई त्यस्तो सिरक दिएर , सिरकको बेइज्जत गर्नु छ र ,:- छोरोले चर्को स्वरले चिच्याउँदै थियो ।
तिलमाया चार सन्तानकि अामा थिइन । उनीहरुलाई हुर्काउँदा कम्ती दुःख गरेकी थिइनन् तिलमायाले । अहिले उनलाई त्यही दु:ख लागेको छ हड्डीमा ,हड्डीको क्यान्सर । जस्ले गर्दा राम्रोसँग हिड्न र हात पाखुरा चलाउन सक्दिनन् ।
उनी क्रमश रोगले ग्रसित हुँदै गइन । दिन प्रति दिन नाजुक स्थिति भयो । त्यही थाउने सिरकले अँठ्याउँदा पनि दुखेर रुन पर्ने अवस्था अायो । अाफू छिटो जान चाहेर मात्रै नहुने रहेछ , माथि कित्ता फाँटमा खाली ठाउँ नभएसम्म नलाने रहेछ यमराजले ।
घरकाले पनि क्रमिक रुपमा बेवास्ता गर्न थाले जस्ले गर्दा उनीमात्रै होइन , उनलाई राखेको कोठा नै दुर्गन्धित हुन थाल्यो । गाउँघरकाले नानाथरी भन्न थाले । अामालाई सफा गरेर राख्न भन्दा मानसिक तनाव दिएर राख्न थाले । जस्ले गर्दा तिलमाया रुँदै काललाई निम्ता गरिरहन्थिन ।
एकदिन सखारै तिलमायाले संसारबाट बिदा लिइन रे भन्ने सुनियो । उनको सतीगतिको काम सकेर सबैजना घर फर्के । दिनहरु बित्दै गए , गौरी पुराण शुरु भयो र चोखिने दिन अायो त्यसदिनमा भान्जालाई वा बाहुनलाई सजिया दान गर्नु पर्ने थियो । उसले त्यही हलुका सिरकसहित सबै चिज दान गर्यो ।
जब तिलमायाको मृत्युु भयो तब उसले दैलो नजिक फोटो राखेर कहीकतै जान पर्यो भने ढोग्छ र अामाको मुख हेर्ने दिनमा अामाको फोटो फेसबुकमा राखेर एउटा स्टाटस् लेख्छ भन्छ मिस यु अामा.............