ए यात्री!
किन मलिन छौ?
साझ पर्न थाल्यो भनेर वा
स्थानसम्म पुग्ने समय
गुज्रिनै लाग्यो भनेर?
अन्धकार त क्षणिक हो
आस्थाको आकाश उचालेर मनमा
निर्धक भइ रात काटिदेउ
थकानहरुले
विश्रामको शैया खोजेको बेला
सुत्नु पनि हिँड्नु नै हो
भोली जब घाम लाग्छ
नयाँ गति र गीत गुन्जन थाल्नेछन्
उज्यालोको यात्रा बढो रोमांचक हुनेछ
तिमीले प्रतिक्षा गरेनौ भने
रातलाई बिहान हुने जाँगर
नलाग्न पनि सक्छ
यात्री!
तिमीलाई थाहा नै होला
केही पाउन केही गुमाउनु पर्छ
रात गुमाएर बिहान पाईन्छ भने
सुकुल तान र निदाईदेउ एकफेर
थकानहरुले
विश्रामको शैया खोजेको बेला
सुत्नु पनि हिँड्नु नै हो ।