धेरै वर्ष भएको छैन, मात्रै ६ वर्ष अघि म संखुवाशभाको खाँदबारी बाट शिक्षा हासिल गर्ने क्रममा बिराटनगर आए । म त पहाडमा बसेको मानिस । दुर्गम तर स्वच्छ र त्यो सफा बातावरण... (हुनत अहिले धेरै कुरा परिवर्तन भएको रहेछ) । अहिले खाँदवारी पनि कंक्रिटकै शहर हुने बाटोमा छ । मलाई अझै याद छ त्यो तुम्लिंग्टार देखि खाँदबारी बजार सम्मको ३ घन्टे यात्रा, बाटोमा चिप्लिदै रातो माटोको यात्रा र हिउद महिनामा त्यहि रातो माटोमा चल्ने ल्याण्ड रोभरले घ्यार घ्यार आवाज निकाल्दै गुडेको पल । त्यसबेला बाहिरबाट सडक नजोडिए पनि गाडी चल्थ्यो खाँदबारीमा ।
त्यस्तै दुर्गम स्थान बाट झरे म, तराई तिर अर्थात बिराटनगर, त्यो बेलामा पहाड भन्या खाँदबारी र तराइ भन्या बिराटनगर भन्ने मात्रै थाहाथियो मलाई । नेपालको यति दुइ स्थानको नाम याद थियो र काठमाण्डौको नाम भने देखेको भरमा होइन, किताबमा नेपालको राजधानी भनेर पढेको भरमा !! बिराटनगर आएपछि मलाइ स्वर्ग आएको भन्दा कम लागेन, त्यो पहिलो दिन ज्योफुल रेस्टुरेन्टमा मामा र मेरो पार्टी, र बाइक बाट घर फर्कदा देखेको रातको झिलिमिली, बिराटनगरको पहिलो यात्रा नभएता पनि, त्यो अनुभब नौलो थियो, नया थियो, र पहिलो नै थियो | बिराटनगर खाँदबारी भन्दा धेरै अलग लाग्नु मेरो लागि केहि नौलो कुरा थिएन, गर्मि ठाउ, ठुला ठुला घर र ठुला सपना बोकेर आएका मानिसको भिड र त्यो तिन पांग्रे सवारी, “रिक्सा” । मलाई पहिलोपटक देख्दा नै याद भएको साधन रिक्सा ।
रिक्सा सुरु चोटी देख्दा निकै नौलो नलाग्ने कुरा थिएन, न त तेल चाहिने, न त ल्याण्ड रोभरको जस्तो घ्यार घ्यार, बस् चाहिदो रहेछ त बल र भित्र देखि काम गर्ने इच्छा र बाध्यता | मानिसको जात, केहि नौलो लाग्ने कुरा देखे पछी त्यसलाई प्रयोग गर्न मन लाग्छ, त्यस्तै भयो मलाइ पनि, नौलो त्यो तिन पांग्रे सवारी चड्न भित्रि मनमा इच्छा जागेर आयो । बिराटनगरमा आएका जोकोही नया मानिसको लागि रिक्सा एउटा आकर्षण बन्दो रहेछ जस्तो लाग्यो मलाइ | अस्पताल आएका धेरैलाई रिक्साले भनेको स्थानमा पुर्याईदिने रहेछ । नयाँ मान्छेलाई पनि यहाँ लगिदिनु भनेपछि पुर्याईदिने । सहयोगी नै भैगयो नि यो । नभन्दै बिराटनगरमा स्कुल जाने दिन आयो, पहिलो दिन पुरा तयारि भएर म, मामु लाइ साथमा लिएर स्कुल बस चड्न गइम, धेरै पर्खिम, गाडी आएन र एकछिन पछी थहाभायो, गाडी त स्कुल पुगीसकेछ अर्थात गाडी छुटेछ.....!! अब के गर्ने ?? पहिलो दिन स्कूल जाने या नजाने ?? कि रिक्सा चड्ने ?? यस्तै प्रश्न मेरो मनमा खेल्दै थियो र अन्त्यमा बिराटनगरको एक पहिचान मा सवार गर्ने मौका पाइयो । मैले पहिलोपटक रिक्सा त्यसबेलै चढेँ ।
खाल्डो वाला बाटोमा उफार्दै, बिस्तारै चालिस रुपैया तिरेर पुष्पलाल चोक देखि मोडर्न एरा उच्च मा.बि (आयल निगम) सम्म रिक्साको यात्रा तय गरियो । खाल्डोमा कुदाउन रिक्सावाला दाईलाई गाह्रो हुन्थ्यो । यत्तिकैमा मलाइ रिक्सा दाइ संग केहि कुरा गर्न मनलाग्यो तर मनमा डर पनि अलिअलि थियो, त्यो थोरै डरको बिच मैले दाइलाइ केहि सोध्ने बिचार गरे र भनेँ:
"नमस्कार दाई¸ तपाईको शुभनाम?"
“जित नारायण यादब”
"उमेर चाँहि कति भयो नि?"
“४५ बर्ष”
“ओहो दाइ त ४५ पुग्नुभएछ, रिक्सा चलाउन थाल्नुभएको पनि धेरै भयो होला हगी?”
“१६ बर्ष देखि यो पेशा अंगालिरहेको छु”...
एकछिन शान्त भएको मेरो मनमा अर्को प्रश्न खेल्यो सोधिहालेँ
“दाइ सन्तुष्ट हुनुहुन्छ आफ्नो कमाइ र जीवन देखि”
यो सवालमा भने उहा धेरै बोल्न चाहानुभएन, बस मुस्कुराउदै भन्नुभयो, “दुख शुख चल्दै छ भाइ” | यसो भन्दै गर्दा उहाँले पसिना पुछ्नुभएको थियो । त्यसपछी मलाई धेरै कुरा सोध्न पनि आएन ।
त्यो पल घ्यार घ्यार गर्दै कुद्ने ल्याण्ड रोभरको भन्दा बढी मज्जा आयो, सायद पहिलो चोटी भएर होला | किन हो थाहा छैन मेरो मन रिक्साले सजिलै जित्यो र त्यो भन्दा बढी पहिलो गफगाफ ले !! त्यस पछी यो ६ वर्ष सम्म सम्झन नसकिने गरि रिक्साको यात्रा गरियो, धेरै अनुभब बटुलियो र रिक्सा कुदाउने त्यो मानिस हरु लाइ नजिकै बाट नियालियो तर पहिलो भन्या पहिलै हुदो रहेछ, त्यो पहिलो यात्रा, त्यो गफगाफ र दाइको स्वर अझै मष्तिस्कमा ताजा छ, हिजै जस्तो लाग्ने त्यो अनुभबले ६ वर्ष काटिसकेछ, कति छिटै बितेको जस्तो लाग्ने, समय बितेको पत्तै भएन |
वास्तबमा पहिलो आकर्षण जे जो केहिमा होस्, मानिस लाइ मोहित पार्दो रहेछ । रिक्साले मलाई पारे जस्तै अन्य कुराहरुले मानिसहरुलाई मोहित पारेको होला | समय गतिशील छ, समय अघि बढी रहन्छ र समयको परिवर्तन संगै मानिसको जीवन दिन प्रतिदिन सरल बन्दै छ, पहिला त्यहि रिक्सामा सन्तुष्ट मानिस हरु अहिले सिटि सफारि तर्फ बढी आकर्षित भएका छन्, म पनि | हो हामी पनि समय संगै चल्नुपर्छ, समय संगै परिवर्तित हुनुपपर्छ र जीवन सरल बनाउदै जानुपर्छ | तर अन्त्यमा, जतिनै आधुनिक साधन जस्तै सिटि सफारी वा अन्य साधनले रिक्साको स्थान लिएतापनि, रिक्सा बिराटनगरको एक परिचय हो भन्दा केहि दुइमत नहोला र सम्पूर्ण रिक्सा चालक जो आफ्नो बाध्यताले यो पेशा अंगालिराख्नु भएको छ, आफ्नो पसिना बगाइराख्नु भएको छ, उहा हरु बिराटनगरको नायक हुनुहुन्छ भन्ने कुरामा पनि केहि शंका छैन !!
साँचि त्यो दाईले अहिले पनि रिक्सा नै चलाउनु हुन्छ कि सिटी रिक्सा?