विराटनगर । शौचालय निर्माणको लागि कोशी प्रदेश सरकारले छुट्याएको ५ करोड बजेट कटौती गरी उक्त रकम पर्यटन प्रबद्र्धनका लागि इलामकै सोही क्षेत्रमा लगानी गर्ने कोशी प्रदेश वन, पर्यटन तथा वातावरण मन्त्री गणेश उप्रेती सुशिलले प्रतिबद्धता जनाएका छन् ।
जिम्मेवारी पाएलगत्तै आइतबार मन्त्रालय पुगेका मन्त्री उप्रेतीले शौचालय बनाउन छुट्याएको ५ करोड रकम मध्ये ५० लाख सोही प्रयोजनमा खर्च गर्ने र बाँकी रहेको पैसा इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने बताएका हुन् ।
प्रदेशका मन्त्री शम्शेर राईको निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा शौचालय निर्माण गर्ने भन्दै प्रदेशको बजेटसम्बन्धी रातो कितावमा ५ करोड रुपैयाँ छुट्याइएको थियो । उक्त विषय सार्वजनिक आलोचनाको विषय बनिरहको छ । मुख्यमन्त्रीसँगको छलफलमा पनि सो रकमलाई कटौती गर्ने र पर्यटन प्रबद्र्धनमा लगाउने कुरा भएको बताउदै उनले त्यही अनुसार प्रदेश सरकार अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
यसैबीच मन्त्री उप्रेतीले पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहको पोखरी निर्माणका लागि भएको खर्चको पनि छानविन गरिने बताए । उक्त पोखरी निर्माणका लागि भन्दै यस वर्ष पुनः ४ करोड रुपैयाँ छुट्टीएको छ । सो पोखरी निर्माणको नाममा लामो समयदेखि बजेट छुट्टीए पनि काम नभएको भन्दै आलोचना भईरहेको छ ।
‘पोखरी निर्माणको विषयमा पनि विभिन्न कुरा उठेको छ । कति बजेट छुट्याइएको थियो । कति बजेट खर्च भयो र सही ढंगले भयो भएन भन्ने विषयमा मुख्यमन्त्रीसँग आवश्यक सल्लाह गरेर छानविन गर्ने गरी अगाडि बढ्छु,’ उप्रेतीले भने ।
पूर्वमुख्यमन्त्री कार्कीको घरछेउमा रहेको उक्त पोखरीमा प्रदेश सरकार गठन भएपछि हरेक वर्ष करोड भन्दा बढि बजेट बिनियोजन भइहरेको छ । सो पोखरीमा प्रदेश सरकार गठन हुनुभन्दा अगाडि नगरपालिका स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयबाट पनि करोडौं बजेट लगानी भएको जनाईएको छ ।