काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । कोशीको भने यो लगातार तेस्रो हार हो ।
कोशी प्रदेशले पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर जम्मा १६६ रन बनाएको थियो । कोशीका सुजन थपलियाले १०५ रनको शतकीय पारि खेल्दा अभ्यास तिम्सिनाले २३ रनको योगदान गरे । कप्तान अंकित सुवेदीले १० रन बनाउँदा अरु खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो । कोशीलाई सस्तैमा रोक्ने क्रममा पुलिसका करण केसीले ३ विकेट लिँदा ललित राजवंशी र सुनिल धमलाले दुई-दुई विकेट लिए । यसैगरी रसिद खान, सागर ढकाल र कुशल भुर्तेलले एक-एक विकेट लिए ।
१६७ रनको जवाफी लक्ष्यपुलिसले २३.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । पुलिसलाई जित दिलाउनका लागि अर्जुन साउदले नटआउट ६२ रनको अर्धशतकीय पारि खेल्दा कप्तान दीपेन्द्रसिंह ऐरीले पनि ३८ रनको नटआउट पारि नै खेले । यसैगरी सुनिल धमलाले १६ तथा कुशल भुर्तेलले १२ रन बनाए । दिलीप नाथ ३१ रन बनाएर आउट भएका थिए । कोशीका कमल खत्रीले २ तथा सोनु मण्डलले १ विकेट लिए ।