विराटनगर । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब इलाममा जारी प्रथम एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सदरमुकामस्थित ठूलो टुँडिखेलमा आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ३-० गोलले पराजित गर्दै बिर्तामोडले सेमिफाइनलमा स्थान बनाएको हो ।
बिर्तामोडका लागि हिसुब थपलियाले २ र प्रशान्त लक्समले एक गोल गरे ।
अफ्रिकन खेलाडीसहित मैदान उत्रिएको सुनसरीविरुद्ध बिर्तामोडका हिसुब थपलियाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेका थिए ।
खेलको ५१औँ मिनेटमा फेरि हिसुबले नै अर्को गोल गर्दै बिर्तामोडको अग्रता दोब्बर बनाए । ८६औँ मिनेटमा प्रशान्त लक्समले थप गोल गरेर टोलीको जित सुनिश्चित गरे ।
खेलको प्लेयर अफ दि म्याच बिर्तामोडका हिसुब घोषित भए । उनलाई समर्पित सेक्युरिटीका प्रमुख विजय बस्नेतले नगद पाँच हजारसहित ट्रफी प्रदान गरे ।
रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भोलि सोमबार काठमाडौँको न्यु रोड टिम (एनआरटी) ले सर्लाहीको बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा भारतको दार्जिलिङसहित आठवटा टिमको सहभागिता छ ।
नेपालका ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) काठमाडौँसहित बुटवल लुम्बिनी, पाँचथर फुटबल क्लब, विर्तामोड युनाइटेड झापा सहभागी छन् ।
यसैगरी, राष्ट्रिय जागृति क्लब इटहरी, बाग्मती युवा क्लब सर्लाही, आयोजक रेड हर्स फुटबल क्लब र विदेशी टोली मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ सहभागी छन् ।
माघ १३ गते फाइनल खेल हुने प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
यस्तै, उपबिजेताले ३ लाख रुपैयाँ पाउने जनाइएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, डिफेन्डर, मिड फिल्डर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।