काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको गर्भगृहमा पूजा गर्दै विधिवत रुपमा प्राण प्रतिष्ठा गरेका हुन् । प्रतिष्ठापछि आरती गरिएको छ ।
गर्भगृहमा मोदीसँगै आरएसएस प्रमुख मोहन भागवत, मुख्यमन्त्री योगी आदित्यनाथ, आनन्दीबेन पटेललगायतले साथ दिएका थिए । स्थानीय समयअनुसार १२ः२९ः०८ बजे शुभ मुहूर्त भएको हो । ८४ सेकेन्डको उक्त मुहूर्त १२ः३०ः३२ बजेसम्म चलेको थियो । पूजाको नियमअनुसार मोदीले यम नियमको पालना गरी प्राण प्रतिष्ठा पूजा गरेका हुन् । उनले ११ दिनदेखि नरिवलको पानीमात्र पिएर भुइँमा सुतेर अनुष्ठान गरेका थिए । प्राण प्रतिष्ठाका क्रममा मोदीले भगवान रामका कारण आज(सोमबार)को दिन एक अद्भुत आभा लिएर आएको बताए ।
मोदीले आजको दिन पात्रोमा छापिएको एक मिति मात्र नभएर नयाँ कालचक्रको उद्गम भएको बताए । उनले भने, ‘आजको दिन क्यालेण्डरमा राखिएको मितिमात्र होइन । यो एक नयाँ कालचक्रको उद्गम हो । राम मन्दिरको भूमी पुजा गरेदेखि देशमा उत्साह र उमंग बढ्दै गएको छ । राम मन्दिर निर्माण कार्यदेखि देशबासीमा एक नयाँ विश्वास उत्पन्न भएको छ ।’ आम नागरिकले सदियौंदेखि पर्खिरहेको धरोहर प्राप्त भएको भन्दै प्रधानमन्त्री मोदीले मुलुकमा नव इतिहासको सुरुवात गरेको बताए । आज साच्चिकै राम भगवान देखिएका बताउँदै उनले यस दिनलाई हजारौं वर्षपछि चर्चामा रहने बताए ।
आठ हजार भन्दा बढीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरिएको प्राण प्रतिष्ठामा करिब ५० देशका मानिसलाई विशेष अतिथिका रुपमा बोलाइएको थियो।
कार्यक्रममा सहभागी हुन पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अदाणीलगायत पनि सहभागी भएका छन् । भारतीय कलाकारहरु पनि सहभागी भएका छन् । यसअघि गत माघ २ गते १६ जनवरीदेखि प्राण प्रतिष्ठाको प्रक्रिया शुरु भएको थियो । विभिन्न अनुष्ठान चलिरहेको थियो । भगवान् रामको नयाँ मूर्ति माघ ३ गते मन्दिर परिसरमा प्रवेश गराइएको थियो ।
गत वर्ष माघमा नेपालको कालीगण्डकीबाट राम मन्दिरका लागि दुई ओटा देवशीला अयोध्या लगिएको थियो ।