अमर नेम्बाङ स्मृति साहित्य सम्मान तुम्खेवा र बाँस्कोटालाई

<span class='c1'>अमर नेम्बाङ स्मृति साहित्य</span> <span class='c2'>सम्मान तुम्खेवा र बाँस्कोटालाई</span>

काठमाडौं । यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति साहित्य सम्मान तथा पुरस्कार कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले नेम्बाङको पाँचौं स्मृति दिवसमा तुम्खेवा र बाँस्कोटालाई संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार प्रतिष्ठानले तुम्खेवा र बाँस्कोटालाई साहित्य सम्मानसहित एकजना जेहेन्दार विद्यार्थीलाई छात्रवृति र आगलागी तथा पहिरोपीडितलाई राहत वितरण गर्न लागेको हो ।

तुम्खेवा र बाँस्कोटा दुवै पत्रकारसमेत हुन् । तुम्खेवा हाल सञ्चारिका नेपालको अध्यक्ष छिन् भने बाँस्कोटा पाँचथर पत्रकार महासंघका अध्यक्ष हुन् । बाँस्कोटाको नियात्रा ‘कञ्चनजंघाको काखबाट’ र कविता कृति ‘ढुंगाको प्रेम’ प्रकाशित छन् । गतवर्ष यही पुरस्कारबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा पुरस्कृत भएका थिए । २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ मा डा.गोविन्दराज भट्टराई र वीर नेम्बाङ, २०७६ मा डा।देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई यो पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार तथा छात्रवृत्ति यही माघ २६ गते फिदिममा कार्यक्रम गरी वितरण गरिने अध्यक्ष नेम्बाङले बताए । प्रतिष्ठानले ज्योति सेकेण्डरी स्कुल, फाल्गुनन्द–७ मा १० कक्षामा अध्ययनरत विद्यार्थी प्रेमा लावतीलाई छात्रवृत्तितर्फ छनोट गरिएको जनाएको छ । स्वर्गीय अमर नेम्बाङ नेपाली साहित्यका एक विशिष्ट स्रष्टा हुन् । उनी पर्यावरणीय लेखनका अभियन्ता थिए । उनको संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरु’लाई यस लेखनको उत्कृष्ट प्रयोगका रुपमा लिइन्छ । उनको सम्झनाको तरेलीसँगै ‘अमेरिका भ्रमणका केही सम्झनाहरु’ (संस्मरण) र ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशित छन् ।
नेम्बाङको जन्म १९९८ साल श्रावण २३ गते पाँचथरको फाल्गुनन्द गाउँपालिका–३, पौवामा बाबु नयेन्द्रराज (नरवीर) नेम्बाङ र आमा श्रीहाङ्मा (थाम्सुहाङ) नेम्बाङको कोखबाट माइला छोराको रूपमा भएको थियो ।

आफ्नै गाउँको सारताप स्कुलबाट अध्ययन सुरु गरेका नेम्बाङले सन्त रोबर्टस उच्चमावि दार्जिलिङबाट १९६१ मा हाइस्कुल पास गरेका थिए र सन्त जोसेफ कलेज नर्थप्वाइन्ट दार्जिलिङबाट १९६६ मा बिए सकेका थिए । १९६९ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका नेम्बाङ पाँचथरमा लिम्बू समुदायबाट स्नातकोत्तर गर्ने पहिलो व्यक्ति हुन् । २०३३ सालमा जनपक्षीय उम्मेदवार भएर चिलिङदेन गाउँको नेतृत्व सम्हालेका नेम्बाङ पटक–पटक तत्कालीन पौवासारतापमा कांग्रेसका तर्फबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेम्बाङले स्थानीय तहबाट देशभरमा पहिलो पटक मातृभाषा शिक्षा पठनपाठनलाई आधारभूत तथा माध्यमिक विद्यालयमा सञ्चालन गरेका थिए । गाउँपालिकाको वडा नं ५ ले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा २०७५ साल माघ २६ गते नेम्बाङको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्