विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी-१० क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ ।
विराटनगर महानगरपालिका- ६ नम्बर वडाको आयोजनामा आइतबार सम्पन्न भएको फाइनलमा एनबीएससी लायन्सलाई १० विकेटले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो ।
जितसँगै वाइआरसीसीले नगद ५ लाख रुपैयाँ जितेको छ । उपविजेता बनेको एनबीएससीले २ लाख रुपैयाँमा चित्त बुझायो । एनबीएससीले दिएको १०६ रनको लक्ष्य वाइआरसीसीले ८.१ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । उपाधिको लागि वाइआरसीसीका ओपनर खेलाडी देव खनाले आक्रमक ब्याटिङ गरे । उनले २२ बलमा अर्धसतक पूरा गर्दै अविजित ५६ रनको योगदान दिए । उनले ३ छक्का र ७ चौका हिर्काए । विनोद खनालले २७ बलमा ४४ रन बनाए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एनबीएससीले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १०५ रन बनाएको हो । जसमा सन्तोष कार्कीले ६ बलमा १६ रन बनाए । मिनाश थापाले १८ बलमा २४ रन पारी खेल्दा सुभ कंस्कर ७ बलमा १७ रन बनाए । भिम सार्कीले ३ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन ।
वाइआरसीसीका बलर भुलावान सहनीले २ विकेट, हेमन्त धामी, विपिन खत्री र रासिद खानले समान १-१ विकेट लिए ।
प्रतियोगिताको प्लेर अफ द म्याच वाइआरसीसीका देव खनाल घोषित भए । एनबीएससीका सन्तोष कार्की प्लेर अफ द श्रीरिज भए । उनले प्रतियोगिता भरी २८८ रन बनाएका छन् । उनले नगद २५ हजार पाए ।
विराटनगर प्यान्थर्स तेस्रो
प्रतियोगिताको तेस्रो विराटनगर प्यान्थर्स भएको छ । विराटनगरले विराटनगर स्पोर्टिङलाई ८६ रनले पराजित गरेको हो । जितसँगै विराटनगर प्यान्थर्सले नगद १ लाख रुपैयाँ पाएको छ । चौथो भएको विराटनगर स्पोर्टिङले ५० हजार पायो । तेस्रो पोजिसनको लागि भएको खेलमा विराटनगरले निर्धातिर ओभरमा ४ विकेट गुमाउँदै १५७ रन बनाएको हो । जसमा सोनु अन्सारीले २६ बलमा ५० रन बनाए । दिलिप नाथले १५ बलमा ४८ रन पारी खेल्दा समिर कार्कीले १२ बलमा अविजित ३७ रन बनाए ।
विराटनगर स्पोर्टिङका बलर सुनिलले २ विकेट, प्रशान्तले १ विकेट लिए ।
विराटनगरले दिएको १५७ रनको लक्ष्य पछ्याएको विराटनगर स्पोर्टिङले १० ओभरमा ५ विकेट गुमाउँदै ७१ रन मात्रै बनायो । जसमा हरिस यादवले २३ बलमा अविजित ३९ रन बनाए । रितिक कामतले २१ रन बनाए । विराटनगरका बलर रिजन ढकाल र विसार अहमदले समान २ -२ विकेट लिए ।
गत सोमबारदेखि सुरु भएको प्रतियोगितामा मुलुकका विभिन्न ७ वटा क्लबको सहभागिता रहेको थियो ।
विजेता हुने टिमलाई विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ६ का वडाअध्यक्ष अक्षय सहनीलगायतले पुरस्कार वितरण गरे ।