प्रेम देवान
विराटनगर । यतिबेला काठमान्डौंमा मेयर बालेन शाहले सरकारी जग्गा कब्जा गरेर बनाईएका संरचनादेखि सडक सीमा मिचेर बनेका भवनहरु भटाभट भत्काउँदै आएका छन् । सरकारी जग्गाहरु कब्जा गर्ने कसैलाई पनि बालेनले छाड्दैनन् । सुरुमा मौखिक त्यसपछि लिखित सूचना दिन्छन् । नमानेपछि आफैं भत्काउन पुग्छन् ।
विराटनगर महानगरपालिकाले समेत विराटनगर–३ मा एउटा घर तीनवर्षपछि बालेन शैलीमै मंगलबार भत्काएको छ । विराटनगर ३ स्थित शितल मार्ग रेग्मी टोलमा लामो समयदेखी बाटो निर्माणमा अवरोध बन्दै आएको शमसेर श्रेष्ठको घर भत्काएर सडक सीमा कायम गरिएको हो ।
बाटो र नाला निर्माणको लागि केन्द्र सरकारको झन्डै ३ करोडको बजेटमा पूर्वाधार विकास कार्यलयले ठेक्का लगाएको थियो । सडक र नाला ३ बर्ष अगाडी नै बनिसक्नुपर्ने हो तर कोरोना लगायतले काम भएको थिएन । बजेट फ्रिज भएपछि प्रदेश सरकारले २५ लाख बिनियोजन गरेर रोकिएको स्थानमा काम अगाडी बढाएको थियो । त्यसमा समेत अवरोध भएपछि महानगरपालिकाले घर भत्काएर साइट क्लियर गरिदिएको हो ।
करिब २ फिट घरको जग्गा नालामा पर्ने भएपनि भत्काउन नमानेपछि महानगरपालिकाले पटक–पटक पत्राचार गरिसकेको थियो । मंगलबार विहान विराटनगर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बासु बहादुर बस्नेत, जिल्ला प्रहरी कार्यलय मोरङ्गबाट खटिएका सुरक्षाकर्मी, नगरप्रहरी र स्थानिय समेतको सहभागितामा घर भत्काइएको छ ।
ठेकेदार कम्पनीले श्रेष्ठको घरको कारण नाला निर्माणमा समस्या भएको भन्दै महानगरलाई पत्र पठाएको थियो । पत्रका आधारमा महानगरपालिकाले साइट क्लियर गरिदिन भन्दा समेत नमानेपछि अन्तमा डोजर नै चलाउनु परेको महानगरपालिका प्रहरी निरीक्षक राजन पौडेलले बताएका छन् ।