विराटनगर । विश्व वातावरण दिवसका दिन विराटनगर २ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिर विद्यालयले उपहारमा विरुवा वितरण गरेको छ ।
विराटनगरमा वातावरणको संरक्षणमा प्रोत्साहन कार्य गर्दै आएका कार्यालयहरुलाई विद्यार्थीले बिरुवा उपहार दिएर प्रतिकात्मक सन्देश छरेका हुन्।
विश्व वातावरण दिवस दिन पृथ्वीको संरक्षणमा बिरुवाको महत्व दर्शाउन विद्यार्थीहरुले विराटनगर महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र आवर विराटनगरलाई उपहार प्रदान गरेका हुन् । वातावरणको क्षेत्रमा रहेर सचेतनाको काम गर्दै आएको ओबी मिडिया, वातावरण संरक्षणमा सकारात्मक योजना बनाउँदै आएको महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय र सडकमा बसेर दैनिक कार्य गर्दै आएको ट्राफिक प्रहरीलाई बिरुवा दिइएको हो ।
विद्यालयकी शिक्षिका नेहा चौहानसहितविद्यार्थीले विरुवा हस्तान्तरण गर्दै वातावरण संरक्षणमा काम गर्ने अभिप्रेरणा जागिरहोस् भन्ने कामना गरेका हुन् । विरुवा वितरण गर्नुको उद्देश्य पृथ्वीको संरक्षण गनुपर्छ भन्ने ज्ञान विद्यार्थीलाई सिकाउने पनि उद्देश्य हो, शिक्षिका चौहानले भनिन्–सानैदेखि वातावरण संरक्षणमा विद्यार्थीको मन लगाउनु हाम्रो ध्येय हो ।
यसैगरी दैनिकमा कागजको अत्याधिक प्रयोगले गर्दा हाम्रो वातावरणलाई नकारात्मक असर पारेकोले प्रयोग घटाउन समेत सुझाव दिइएको छ । पुनःचक्रण गरी वातावरणीय क्षति न्युनीकरण गर्न २०२४ जुन ५ बुधबार विश्व वातावरण दिवसलाई नो पेपर डे का रुपमा मनाउन अपिल गरेका छन् ।