इटहरी । कोशी प्रदेश स्तरीय अन्डर-१५ टेबल टेनिस प्रतियोगिता इटहरी रंगशालास्थित इटहरी टेबल टेनिस एकेडेमीको कभर्ड हलमा सम्पन्न भएको छ।
गर्ल्स सिङ्गल्सतर्फ सुनसरीकी सुलेखा कुमारी ठाकुर विजेता बनेकी छन्। भने सुनसरीकै सुधा पोखरेल उपविजेता भएकी छन्। मोरङकी बिज्ञता थापा र मानसी सेठिया संयुक्त रूपमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।
त्यसैगरी ब्वाइज सिङ्गल्सतर्फ मोरङका सुशान्त मेहता विजेता बनेका छन्। सुनसरीका गौतम तामाङ उपविजेता भएका छन्। भने मोरङका यथार्थ आचार्य र सुनसरीका स्वर्णिम कार्की संयुक्त रूपमा तेस्रो स्थान हासिल गरेका छन्।
पुरस्कार वितरण समारोहमा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक कुमार राई तथा अखिल नेपाल टेबल टेनिस संघका केन्द्रीय सदस्य अनुज बाँनियाले विजेतालाई पुरस्कार प्रदान गरेका थिए। उक्त अवसरमा उनीहरूले आगामी पोखरामा हुने राष्ट्रिय अन्डर-१५ प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उच्च प्रदर्शन गरी पदक जित्ने आशा व्यक्त गरेका थिए।
प्रतियोगिताको प्राविधिक पक्षमा अन्तर्राष्ट्रिय अम्पायर बिकेन थापा र राजेश भट्टराईले सहयोग पुर्याएका थिए।