-अरुण खड्का
हुँदिन म तिम्रो भनी जिद्दी गर्न छोड प्रिय,
मेरो बारे दुनियाँको कान भर्न छोड प्रिय।
राखेको छु छितिभित्र सजाएर तिमीलाई,
बेलाबेला दिलबाट डेरा सर्न छोड प्रिय।
एक्नास हुन्न जीवन हुन्छ उतारचढाव,
आत्तिएर निराशाको सामू पर्न छोड प्रिय।
कहिले घाम कहिले पानी जीवनको रीत,
आँसु बनी आँखाबाट तल झर्न छोड प्रिय।
सजग भै तर्नुपर्छ पिरतीको समुन्द्र यो,
आवेगमा जबर्जस्ती साँघु तर्न छोड प्रिय।
काठमाडौं।