-नवराज पोखरेल 'नवशिला'
मुक्तक १
गरिबलाई त एकछाक खानानै ठुलो आधार हुँदो रहेछ
एकटुक्रा जमिन अनि खरको झुप्रोनै संसार हुँदो रहेछ
पाहुना बनेर आउँदोरहेछ खुसी र सुख कहिलेकाहिँ
सङ्घर्ष परिश्रम साथी पीर र अभाव परिवार हुँदोरहेछ।
मुक्तक २
कहिले चट्टान झैँ स्थिर कहिले नदि झैँ बहनु पर्दोरहेछ
हिडेर मात्र लक्ष भेटिएन भने घरिघरि दौडनु पर्दोरहेछ
मान्नै पर्ने रहेछ यो चराचर ब्रमाण्डको नियम र नीति
यो सृष्टि चलाउन कोहि मर्नु त कोहि जन्मनु पर्दो रहेछ।
मुक्तक ३
ममता भरि स्नेह माया,आशिर्वाद र बरदान हुँदो रहेछ
सन्तानका गल्ती सच्याइदिने दिल महान हुँदो रहेछ
दुखपिडा पीर अभावलाई समेत लुकाएर हाँस्न सक्ने
आमाको मुस्कान संसारको सुन्दर मुस्कान हुँदो रहेछ।
मुक्तक ४
खै के लेखेको हो तिमीले न कुनै भाव न कुनै रस छ
छ त केवल प्रतिशोध लान्छना अफवाह खसखस छ
उनेर बेतुकका वाक्यहरु आफूलाई मात्र ठालु ठान्ने,
हामी प्रतिको आक्रोस बदनाम आरोप र अपजस छ।
बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ