-राधा भट्टराई
लपक्क भिजेकाछन परेलीहरु
मुस्कान बोक्ने ओठ थर्थराएकोछ
लर्बरिएकोछ बोली
तर पनि
कम्पित श्वरमा
बिदा माग्दैछु तिमीसंग
बिन्ती नभन है पापिनी रै ' छ
धुम्म परेकोछ आकाश
मौन छ धर्ती
सायद ,
दस बर्षको हाम्रो नाता
धरापमा देखेर होला
मलाई पनि चटक्कै तिमीलाई छोडेर जान मनछैन
आफ्नै मुटुलाई दुखाएर टाढिन मनछैन
र पनि
घडीको यी काँटाहरुले
हाम्रो बिछोडको धुन बजाइरहेकोछ
एकतमासले
सालनाल गाडेको माटोको ऋण तिर्नुछ मैले
तिनबर्षे हिउँद खाएकी आमाको आँसुले पुछ्नुछ मैले
लालाबाला प्रती आमाको कर्तव्य पुरा गर्नुछ मैले
त्यसैले
बिन्ती गर्छु
नभन है पापिनी रै ' छे
मलाई मेरो देश र लालीगुँरासको यादले सताउँछ
सगरमाथाको यादले सताउँछ
गाउँ बेशी हिडेको गोरेटो र फाँटहरुको यादले सताउँछ
मलाई मखमली फूलको माला गाँस्ने ठूलो घोको छ
साथीहरुसंग भैलो र रत्तेउली खेल्ने रहर छ
त्यसैले बिन्ती गर्छु
नभन है पापिनी रै' छे
जसरी नालाले खहरेलाई
खहरेले नदीलाई
नदीले सागरलाई
पछ्याउन नछोडे झैं
मलाई पनि तिम्रो यादले पछ्याईरहने छ
म घरदेश गएपनी
मेरो पसिनाले भिजेको यो माटो
अथाह व्यथाहरु सुनाएको , सुनेको
सागरको यो छालहरु कदापि बिर्सन सक्दिन
मेरो हरेक घढ्कनहरुमा
मेरो हरेक दुखसुखहरुमा
मेरो हरेको उमगं , खुशिहरुमा
मेरो हरेक सजिलो अप्ठ्यारो दिनहरूमा
तिमी सधैं मेरो यादमा हुनेछौ
तिमीलाई राखेको यो मुटुमा
अरुलाई राख्न सक्दिन
तिमी सधैं मेरो मायालु छातीमा
ढुक्ढुकी भएर बाँचीरहनेछौ
मेरो ओठहरुमा खुशीको मुस्कान भएर
हाँसीरहनेछौ
त्यसैले
बिन्ती गर्छु
नभन है
पापिनी रै' छे ।
विराटनगर- ३