-जमुना पौड्याल
लर्खराएर खुट्टा
ओरालो झरेको
युग बितिसक्दा पनि
पैतालाले क्षितिज
भेटेको छैन
मस्तिष्कले नयाँ विचार
पाएको छैन
अभ्यागतहरूले
कैयौँ चुचुराहरू चढिसके
हामी आफ्नै आँगनका
नचढेका शिखर
सकेका छैनौँ
अझैसम्म टेक्न
शिरमा चाँदीको मुकुट
निधार र
छातीमा जडीबुटीको
भण्डार
काखमा नदी बोकेर
डाक्ने शिखरहरू
अनुपम सौन्दर्यका
खानी हुन्
हिरामोतीका बिम्ब
अर्थतन्त्रका मेरुदण्ड हुन्
देशलाई जुरुक्क बोकेर
राख्छन् सगरमाथाको काधमा
शीतल हिमाली हावाले
स्पर्श गर्छ हृदयमा
पाहाडी सौन्दर्यले
तान्छ मन
आतिथ्यको अञ्जुली
फिँजाएर
गुन्द्रुक र
ढिँडो थालभरि पस्किएर
बोलाए जस्तै लाग्छ
सधैँ मलाई
नचढेका शिखरहरूले
विराटनगर