यो घना दुनियाँको जङ्गलमा
आज एउटा रूख लड्न आँटेको छ
उसकी चरीको बियोगमा ।
आज अर्को उजाड रुख सिँगार्न खोज्छे त्यो चरी ।
म सम्झाउँ त के सम्झाउँ
उसलाई त हरियाली नै मन पर्न छोड्यो रे
आफ्नो रङ्गिविरङ्गी पँखेटा ओझेल परिदियो रे ।
उसको रङ्ग खुल्न दिने एउटा
हरियाली बिनाको, हाँगा नफैलेको, एक्लै उभिएको
उजाड उजाड रुख छ ।
जहाँ हुँदा उसको शिर
न कसैको अघि झुक्छ,
न कृत्रिम रङ्गले रङ्गिन्छ ।
तर अहिले उसको हरियो रुख
लड्दालड्दै उसको तमाम दुनियाँ बर्बाद गर्ने धम्की दिइरहेको छ ।
चरीको परिवार त्यही रुखको आसपास छ रे
र दुनियाँ त्यति मात्र हैन उसको ।
तर म त्यो रुखलाई कसरी सम्झाउँ कि
गुँड मात्र भत्केको हो,
उसको हाँगा अझै सकुसल बाँकी छ ।
अझ वसन्त आउनै बाँकी छ ।
पालुवा अझै पलाउनै बाँकी छ ।
तिमीलाई चरीनै चाहिए टन्न छन् यहाँ
हरियो रुख खोज्ने हरु ।
तिम्रा हरिया पातहरुको बिच टिलिक्कै टल्किने गुँड नै नरुच्ने लाई कसरी रुचाउँछौ?
किन फकाउँछौ?