-अजिता प्रधान
सडकको पेटिमा खाली पेट सुत्नुपर्दा
जब उस्को पेटमा
भोकले आतंक मच्चाउन थाल्छ
उ कल्पनामा डुब्छ
त्यो आकाश माथिको
झलमलाउदो जुनको
एक टुक्रो मेरो थालमा
खाना बनेर खसिदिए
म अघाउने थिए होला है!
चर्को घामले पोलेर पसिना पसिना हुन्छ!
उस्को शरीर चप्पल बिनाको
पैताला टट्याएर फोका उठ्छन
तब उ फेरि कल्पनामा डुब्छ
उ त्यो सागरले एक अञ्जुली
पानी दिए त मलाई कति
शितल हुन्थ्यो होला
कहिले देखि भत्भति पोलेको
मनमा केहि त राहत हुन्थ्यो होला है!
उस्को आङमा लाएको ठाउँ ठाउँबाट
च्यात्तिएको थोत्रो सर्टबाट देखिने अङमा
जब नालीको मछ्डले सुइरो गाड्छ
तब फेरि उ एउटा कल्पनामा डुब्न
विवश हुन्छ कतै बाट थोरै कपास
उडेर आउथ्यो भने मेरो आङ ढाक्न
पक्कै पनि एउटा वस्त्र त बन्नेथियो होला !
बर्सामा कराइ खोप्टे झोल
जुनै बेला बर्सिदिन्छ छाना
बिनाको जिन्दगी न हो उ
निथ्रुक भिजेको हुन्छ अनि
कल्पनाको गहिरो सागरमा
डुबुल्कि मार्न पुग्छ
म माथिको एक छेउ
आकाश नै मेरो छाना
बनिदिए म निथ्रुक भिज्ने थिइन
त्यो आकाशले मलाई ओत दिए
म झरीमा रुझ्न बाट जोगिने थिए होला है!
भन्न त भन्छन् यहाँ आफ्नै धर्ती छ
आफ्नै आकाश तर म आफ्नो धर्ती
आफ्नो आकाश मुनि भएको मेरो देशमा
कतै छुकि छुइन
त्यो पनि पत्तो छैन मलाई
म हु नहु
तर मेरो देश भने
मेरो जस्तै समृद्धताको कयौं
कल्पनाको भुवरिमा पसेर छट्पटाउदै भएपनि
बाचि रहेको छ म भित्र हो मेरो देश म भित्र बाचिरहेको छ!!