-ऋषि तिवारी
एका बिहानै श्रीमतीले उर्दी जारी गरिन् । बिहानै मर्निङवाकमा निस्किने तरखर गर्दै थिएँ । बीचमा प्याच्चै बोलिन्- "आजदेखि सोह्र श्राद्ध शुरु भयो । बाहिर कसैले छोएको न खानु । चिया पनि न पिइकन हिडेर सिधैं घर आउनु ।"
उनलाई थाहा थियो वा भनौ कसैले भन्योँ,- "दाई मर्निङवाक गरेपछि त्यो घुम्तीमा भएको चिया पसलमा जहिल्यै चिया पिएर घर आउनु हुन्थ्यो।" यसरी कसैले मेरो पोल मेरी श्रीमतीलाई सुनाइसकेको थियो । अब को थियो त्यो पोलमारा नाम बताउन चाहिनन् । मैलें पनि चासो दिइन ।
श्रीमतीको उर्दी अनुसार सदाझैं एकफेरो मर्निङवाक गर्न निस्किएँ । फर्किदा चियाको तलतलको जिब्रे स्वाद मुखले खोजिरहेको थियो ।
उता श्रीमतीको उर्दी सम्झन्छु । यता सोह्र श्राद्धको परिबन्द ! अँह जिब्रोले मानेन । त्यो चिया पसलको घुम्तीमा न पसेर अर्को पसल अलिक परकै पसलतिर छिर्ने कोशिश गर्दै थिएँ, । आफ्नो छिमेकी न भएको ठाउँ पल्याक पुलुक हेर्दै थिएँ । मनले मानेन । साहुनीलाई भनें,- 'एक कप चिया छिटो बनाउनुस त जिब्रोले चिया खोजिरहेको छ ।' उनले पनि हत्त न पत्त चिया दिइन् । चिया बनेर आइसकेपछि........ !
त्यहाँ हाम्रै छिमेकी छट्टु दोर्णेलाई पो देखें । यसैले पो घरमा पोल लगाउँछ कि क्या हो ? मनले शंका गर्यो । चिया पिउदै थिएँ । मनले भन्यो । 'सोह्र श्राद्ध छ । जिब्रोले स्वाद खोज्छ । खै के गरुम नगरुम । आsssss घर पुगेपछि नुहाइन्छ । चोखो भै हाल्छु नि ?'
म चिया पिउदै थिएँ । दोर्णे मलाई हेर्दै फुत्त निस्कियो । सोचें, यसले फेरि मेरी श्रीमतीलाई पोल पो लगाउँछ कि ?
हत्तार-हत्तार तातो चिया दुई घुट्की मै घाटी पोल्ने गरी रित्ताए गिलास ।
दोर्णे भन्दा पहिले घर पुग्न सफल भएको थिएँ ।
ऊ लुरुलुरु आउँदै थियो । मलाई आँगनमा देखेर सोच्यो होला उसले 'यो मान्छे कसरी म भन्दा छिटो आइसकेछ ।' ऊ मुन्टो बटार्दै बाटो क्रस गरेर आफ्नै घर छेऊ उभिरहेको थियो ।
सदा झैं श्रीमती घर पुग्दा सम्म सफा सुग्घर गर्दै गरेकी हुन्थिन् । सोधिन्, 'आजदेखि सोह्र श्राद्ध,शुरु छ । बाहिर त केही खाइ पिइ आउँनु भएको छैन नि ? पितृले सराप्छन नि ।' मैंले जवाफ दिएको थिएँ । 'छैन - छैन । ऊ त्यो दोर्णेलाई पनि सोध त ।'
'जिब्रे स्वादले के खोज्छ खोज्छ । सोह्र श्राद्धले छेक्छ र ? त्यो कुरो उनलाई के थाहा ?'
तत्पश्चात् स्नान गृह......छँदै छ त ।
विराटनगर-६, ममता-मार्ग ।