विराटनगर । मोरङ प्रहरीले उज्यालोको पर्व तिहार र छैठमा पटका पड्काउँदा दिर्घरोगी नागरिक र बालबालिका पनि हुन्छन् भनेर सोचिदिन आग्रह गरेको छ । तिहार र छैठ पर्व सुरक्षा निगरानीमा गरिएको कडाईका विषयमा जानकारी दिदैं मोरङ प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक नारायण चिमरियाले मुटु रोगी तथा बालबालिकाका लागि पटका पड्कदाँ हुनसक्ने त्रासदीपूर्ण अवस्था र बारुदजन्य वस्तुको धुँवाले पार्नसक्ने असरलाई सबैले ख्याल गर्नुपर्ने बताएका हुन् ।
उनले तिहारमा लक्ष्मीपूजा गर्दा सुरक्षा जोखिमलाई ख्याल गर्नका लागि पनि अपिल गरेका छन् । बिजुली बत्तीमा हुनसक्ने जोखिम, घरमा दिवापलीपछि लक्ष्मीपूजापछि सहजै कोठामा अन्य व्यक्ति पुग्नसक्ने भए ध्यान दिनका लागि अनुरोध गरिएको छ । संस्थागत रुपमा खेलिने देउसीका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर त्यहाँ निर्धारण भएको समय तालिकालाई अपनाउन अनुरोध गरिएको छ । बाँकी देउसी भैलो १० बजेसम्म खेल्नुपर्ने प्रहरीले बताएको छ ।
प्रहरी उपरीक्षक चिमरीयाले नागरिकले सजगता अपनाउनु पर्ने र प्रहरीले सुरक्षा दिनुपर्ने विषय सँगसँगै जोडिने बताउँदै उनले भने–सेप्टी हुने तपाँई (नागरिक) को जिम्मेवारी हो, सेक्युरिटी दिने हाम्रो । उनले सुरक्षाको अनुभूति हुने गरि प्रहरी परिचालन गरिएकोले निर्धक्क पर्व मनाउन पनि उनले आग्रह गरेका छन् । कुनैपनि जुवाजन्य खेल खेलिरहेको सूचना प्रहरीलाई प्राप्त भए तत्काल नियन्त्रणमा लिने बताउँदै भने –सडकमै डाइस (पासा, लङगुर बुर्जा) खेलाउन पूर्ण बन्देज छ । प्रहरीले सोमबार मात्रै आठ स्थानबाट डाइस नियन्त्रणमा लिइएको छ ।
यसैगरी लागुऔषध नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा डग स्निफिङ्ग (कुकुर) परिचालन गरिने भएको छ । सीमावर्ती नाकासहित विभिन्न स्थानमा कुकुरसहितको आकस्मिक चेकजाँच गरिने भएको हो ।