इन्दु साह
विराटनगर । विराटनगरमा ढेड वर्षयता सडक सहयोगापेक्षी र आश्रीत एकसय बढी संख्या मानवको उद्धार भईसकेको छ । असाहय तथा बेसाहारा बनेर सडक सहयोगापेक्षी तथा सडक आश्रीत बनेका नागरिक उद्धारपछि आश्रममा संरक्षण गरिदैं आएको हो ।
सडकमा देखिने सहयोगापेक्षी तथा आश्रीत मानवको संख्या न्यून हुँदै गएको भएपनि शुन्यमा झार्ने लक्ष्य अझै अधुरो रहेको छ । जाडोको समयमा यसरी सडकमा रात बिताउनेहरु अहिले पनि भेटिन्छन् । नागरिक सडकमा बेसाहारा हुँदा उसको संरक्षण गर्ने दायित्व राज्यको हुन्छ । त्यसैले कतिपय सूचनाका आधारमा विराटनगर महानगरपालिकाले उद्धार गरेर संरक्षण दिदैं आएको पनि हो ।
विराटनगर महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार २०८० देखि चालु आर्थिक वर्षको मंसिरसम्ममा एक सय भन्दा बढि संख्यामा मानव उद्धारका कार्य गरिएका छन् । नगर प्रहरीले विभिन्न सार्वजानिक स्थानहरू जस्तै सडकपेटी, मन्दिर र सार्वजानिक सेवाप्रवाहका कार्यालय आसपासबाट उनीहरुको उद्धार गर्दै आएको छ । उद्दार गरेका व्यक्तिलाई महानगरपालिकाले मानव सेवा आश्रममा संरक्षणका लागि पठाउने गर्दछ ।
नगर प्रहरी प्रमुख पौडेलका अनुसार विगतका वर्षको तुलनामा सडकआश्रीत व्यक्तिको सख्या निकै कम भएको छ । कसैले दिएको सूचनाका आधारमा वा नगरप्रहरी आफैंले फेला पारेर पनि उद्धार गर्दै आएको हो । यति हुँदाहुँदै पनि कतिपय नागरिक अहिले पनि सडकमा रात बिताउने गर्दै आएको पौडेल बताउँछन् । जस्तै दिनभरी कवाडी संकलन गर्नेहरु सडकमै बस्ने गरेको उनको बुझाई छ ।
कवाडीको काम गर्नेहरुले साँझ परेपछि विभिन्न मादक पदार्थ तथा लागुऔषध समेत खाने गरेका कारण उनीहरु घर फर्कनै बिर्सने गरेको कतिपयले बताउँछन् । नगर प्रहरी निरीक्षक पौडेलका अनुसार यसरी दिनभरी काम गरेर सडकमा रात कटाउनेहरुको पनि उद्धार गरेर संरक्षण गरिएको थियो । तर, उनीहरु भोलिपल्ट बिहान आफूहरु काम गर्दै आएको कम्पनी बताएर फेरी आउने गरेका हुन् । उद्धारपछि पनि सडकमै फर्कने गरेका कारण समस्या पर्ने गरेको छ ।
नगर प्रहरी निरीक्षक पौडेलले उद्धारपछि उनीहरुको संरक्षण, उपचार र सामाजिक पुर्नस्थापनामा अझै केहि सुधार गर्नुपर्ने बताएका छन् । त्यसका लागि पुर्नस्थापना गृहलाई व्यवस्थित बनाउन अहिले महानगरपालिकाले मानव सेवा आश्रममार्फत काम गरिरहेको छ ।