इशु पन्त
विराटनगर । जतिसुकै जाडो भएपनि डुमनीदेवी साह विराटनगर–९ स्थित सिटी पाटी प्यालेस अगाडी बिहान–बिहानै आईपुग्छिन् ।
उनको यो बिहानको फुटपाथे व्यापार गर्ने किनेको ठाउँ हो । जसका लागि उनले मासिक दुई हजार बुझाएर सानो टेको लगाएको पसल बनाएकी छिन् ।
आलु चप ,ब्रेड चप ,भक्का र धुङ्ग्रेपापड उनका परिकार हुन् । चिसो छेक्न उनले चार बाँसका चार खुट्टामा त्रिपाल ओडाएकी छिन् । विगतका दिनमा भने उनले आफ्नो छोरा र श्रीमानको चटपटे–झालमुरी व्यवसायलाइ टेवा पुर्याउदै आएकी थिइन । उनले सामानको अभाब हुँदा ओसारपोसार गर्ने र कति ग्राहक आए भनेर टुलुटुलु हेरेर बस्थिन। अहिले भने उनि जाडोको याममा तातो परिकार बनाएर ग्राहकलाई न्यानो पार्दै आएकी हुन् । उनि भन्छिन धेरै जाडो भयो भने भक्का खानेको भिड हुने गरेको छ। पानीपुरी र चटपटे जाडो याममा बिक्री नहुने भएकाले श्रीमान पनि आफ्नो ठेला थन्काएर ढुक्कसँग अहिले श्रीमतीसगै काम गरिरहेका छन् ।
सामानको जोरजाम र दाउराको व्यवस्थापनका लागि श्रीमान खट्नु हुन्छ, डुमनीले भनिन्–जसरी भएपनि परिवारको जीविको चलाउनु छ । ‘हेरे जस्तो कहाँ सजिलो छ ? गरिखान धेरै मेहेनत लाग्छ।’ सामान ओसार्न मात्रै दुइ घण्टा लाग्ने भएकाले आफुलाई अलिक कठिनाई भएकोले घरका सबै मिलेर काम गर्ने गरेको उनले सुनाइन् । घर सात मिनेटको दुरीमा भए पनि सामान धिरै चाहिने उनी बताउँछिन् । उनको परिवार व्यवसाय गर्न लाइ नै कटहरीमा आफ्नै घर छोडेर भाडा तिरेर बसेका हुन। तर, व्यवसाय भने नामको मात्र भएको हुँदा कहिले काही दुःख लाग्ने गरेको सुनाइन् ।
डुमनी र उनका परिवार दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म बाटोको छेउमा बसेर फुटपाथको व्यापार चलाउँदै आएकी हुन् ।