काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।
‘नेपाल हासेको...’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।
गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिष निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय रहेको छ । बालेन मेयर भएपछि उनले गाएको गीत सार्वजनिक भएको यो पहिलोपटक हो । मेयर भएपछि उनले हालसम्म कुनै पनि गीत गाएका थिएनन् ।
यो गीतले ‘लाज शरणम्’को हाइप थप बढाउनेमा निर्माणपक्ष ढुक्क छ । बालेनको लोकप्रियताजस्तै यो चलचित्रको गीत र चलचित्र पनि रुचाइनेमा निर्माण टिमको विश्वास छ । फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । चलचित्र यो वर्षकै प्रतिक्षितमध्येको एक हो । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।