विराटनगर । नेकपा (एमाले) मोरङको दसौँ जिल्ला अधिवेशनका लागि प्रतिनिधिकोअन्तिम नामावली प्रकाशन हुनबाटै रोकिएको छ । निर्वाचन समितिलाई जिल्ला संगठन कमिटिले प्रतिनिधिको अन्तिम नामावली दिन नसक्दा निर्वाचन कार्यतालिका बारम्बार हेरफेर हुन पुगेको हो । सोमबार बिहान ८ बजे अन्तिम नामावली प्रकाशन गर्नेगरी सूचना आइतबार जारी गरे पनि अहिलेसम्म त्यो हुन सकेको छैन ।
बन्दसत्रको समूहगत छलफल आइतबार बेलुका केहि अवरोधकाबीच सम्पन्न भएको थियो । समूहगत छलफलमा समूहका नेता चयन हुँदा सबै संस्थापन पक्ष इतरले चुनिएका थिए । त्यसको ‘रिफ्लाक्सन’को रुपमा निर्वाचन गराउने कुरामै पार्टीको संस्थापन पक्ष धरमराईरहेको आरोप छ । यस्तै हो भने निर्वाचन नगराउने अवस्थामा पुग्ने देखिन्छ, बिनोद ढकाल पक्षका एक नेताले भने–जिल्ला इन्चार्ज जीवन घिमिरे निर्वाचन नै रोक्ने भनेर लबिङमा लागेको कुरा बाहिर आएको छ ।
प्रमुख निर्वाचन अधिकृत सुरेश लाल श्रेष्ठले प्रतिनिधिको नामावली नपाएका कारण अन्तिम नामावली सार्वजानिक गर्न नसकिएको बताएका छन् । नामावली प्रकाशन गर्न जिल्लाका अध्यक्ष र सचिवले प्रमाणीकरण गरेर दिनुपर्छ । तर, मनोनित प्रतिनिधिको नाम एकतर्फी चयन गरेपछि त्यसको विरोध हिजै सुरु भएको थियो ।
सोमबार नै निर्वाचन गर्नेगरी निर्वाचन समितिले निर्वाचन कार्यपालिका सार्वजनिक गरेको थियो । दिउँसो २ः४५ बजेदेखि निर्वाचन गर्ने तालिका थियो । तर, निर्वाचनका कार्यक्रम ११ः३० सम्मलाई सारिएको छ ।