माया र सम्बन्ध

<span class='c1'>माया र</span> <span class='c2'>सम्बन्ध</span>

-राजन प्रसाद न्यौपाने "श्रीयम"
फूल जस्तै हाम्रो माया भएको भए
बोटबाट झारेर
बोटमै वैलाएर
टिपेपछि ओइलाएर
मान्छेहरूले,
अमूर्त मुर्ति र फोटोमा चढाएर
सकाउने थिए होलान्।

कतै माला बनेर
कतै गुच्छा बनेर
फूलहरू अस्तित्व विहिन बन्थे होलान्
स्वार्थी र नीचहरूले त
सुवास लिएर
रसपान गरेर
आवरणलाई फोहोरको कन्टेनरमा
फाल्ने प्रयत्न गर्थे होलान
तर,

हाम्रो माया र सम्बन्ध त
फूल जस्तो होइन
मुटु र धड्कन जस्तो हो
शरीरमा बग्ने
रगत र रक्त कोषिका जस्तो छ
तिमी तन हुँदा म मन हुने
म मन हुँदा तिमी तन हुने

हाम्रो माया त,
विश्व मानव इतिहासमा
दुई मुटुको एक धड्कन जस्तो ।
पानी जस्तै हाम्रो माया भएको भए
फोहोर मिसाएर
दूषित बनाएर
धमिलो पारेर
कुलो पैनी नहरमा जमाएर
बगाएर
अलमलाउने थिए होलान,
त्यी मान्छेहरूले।

कतै ढलमा बगेर
कतै बाँधमा थुनिएर
त्यो जल,
प्रदुषित बन्थ्यो होला
विभिन्न नाममा जलको आकार
परिवर्तन गराउने प्रयत्न गर्थे होलान्
कतिले प्यास लाग्दा
अन्जुलीमा उठाई पिएर
प्यास मेटेपछि
खुट्टा डुवाई धुन्थे होलान्

तर,
हाम्रो माया र सम्बन्ध त
जल जस्तो होइन
जलको प्यास मेटाउने गुण जस्तो हो
संगीतको बाजा र बाजाको धुन जस्तो हो
एक विना अर्कोको अस्तित्व नहुने ।

आकाशका ताराजस्तो, हाम्रो माया भएको भए
बादलले छेकेर
घामले देखेर
प्रकृतिको चक्रमा परेर
उदाउने र अस्ताउने गर्ने थियो होला
कतिले तारा टिपेर
ल्याइदिन्छु भन्दै कसम खाएर
स्वार्थमा फसाएर,
वद्नाम गर्थे होलान, मान्छेहरूले ।

तर,
हाम्रो माया र सम्बन्ध त
न फूल जस्तो
न जून जस्तो
न तारा जस्तो
न जल जस्तो
केही हुँदै होइन,
हाम्रो माया त,
मुटु चलाउने धड्कन हो ।

हाम्रो माया त प्रिय !
वेला वेलामा फुट्ने,
नदीको बाँध जस्तो

पनि होइन
हुँदै होइन
कहिल्यै छुन नसकिने
जूनतारा र सूर्यजस्तो

वग्दै गएर,
समुद्रमा विलय हुने,
विशाल नदी जस्तो पनि होईन।
किन हुनुपर्यो हाम्रो माया

सूर्य र चन्द्रमा जस्तो ?
सूर्य आउँदा चन्द्र भाग्ने
चन्द्र आउँदा सूर्य भाग्ने

होस् हाम्रो माया,
धर्ती र आकाश जस्तो पनि
धर्ती कहिल्यै माथि हुन नसक्ने
आकाश कहिल्यै तल बस्न नमान्ने
किन चाहियो यस्तो असमान माया हामीलाई ?

देखादेख हेराहेर हुने
तर मिलन कहिल्यै नहुने ।
त्यसैले,
हाम्रो माया र सम्बन्ध त
केही जस्तो होइन
कोही जस्तो होइन
मात्र हामी जस्तो हो

हाम्रो जस्तो हो
मुटु रहुन्जेल चल्ने धड्कन हो
नशा रहुन्जेल बग्ने रगत हो
आत्माले देहलाई नछोडे सम्म
रहने सास हो ।

त्यसैले त,
तिम्रो मेरो माया
ईश्वरको सुन्दा उपहार हो
भगवानको प्रसाद हो
जूनीजूनी सँगै बाँच्ने,
वाचा कसमको अभिलेख हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्