-सुमित्रा भट्टराई
मैले मेरी छोरीलाई
परीहरुको कथा सुनाई रहदा
घामजूनको कथा सुनाई रहदा
कतै टाढा हेरेर , अनायसै
प्रेमिल आवाजमा सोधिन
आमा कविता कस्तो हुन्छ ?
निशब्द म
फूलहरुलाई उनेर माला बनाए जस्तो
शब्दहरुलाई उनेर कविता बनाउन
नसकेकी आमा
कसरी भनौ कविता कास्तो हुन्छ ?
एकटक हेरीबसे उनको मुहार ।
छोरी ,
म तिम्रो मुस्कानलाई समेट्छु
बोलीलाई अंगाल्छु
मौनतालाई महसुस गर्छु
शब्दमा उतार्छु र बनाउछु कविता
छोरी
कविता ठयाक्कै तिमी जस्तै छ
तिमी कविता जस्तै छौ
र मैले लेख्ने सिंगो कविता
तिमी नै हौ ।