विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएसँगै मोरङमा युवाहरूको उत्साहजनक सहभागिता देखिएको छ।भर्ना प्रक्रियाको पहिलो दिनमै जिल्ला प्रहरी कार्यालय मोरङमा आवेदन दिनेहरूको ठूलो भीड लागेको छ।
युवाहरूको उल्लेखनीय उपस्थितिले स्थानीयस्तरमा निर्वाचनप्रतिको चासोका साथै अस्थायी रोजगारीप्रतिको आकर्षणसमेत झल्काएको छ। आज पहिलो दिनमा ६ सय ६१ जनाले आवेदन दिएका छन । जस मध्ये ४ सय ४४ पुरुष र २ सय १७ महिला रहेका छन । म्यादी प्रहरी भर्नाका लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकिएको छ। भर्ना हुने म्यादी प्रहरीको कार्यअवधि ४० दिनको रहने जनाइएको छ।
मोरङ प्रशासनले जिल्लाभरका विभिन्न मतदान केन्द्रको सुरक्षा तथा निर्वाचन व्यवस्थापनका लागि कुल ४ हजार ३ सय ८३ जना म्यादी प्रहरीको माग गरेको छ। आवेदन दिने अन्तिम म्याद आगामी माघ १ गतेसम्म तोकिएको छ। फारम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय परिसरबाट बुझाउन सकिनेछ ।
सरकारले यसपटकको निर्वाचनका लागि देशभर कुल १ लाख ३३ हजार ९ सय ८० जना म्यादी प्रहरी भर्ना गर्ने लक्ष्य लिएको छ। निर्वाचनलाई भयरहित, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गरिनेछ। उक्त सुरक्षा व्यवस्थामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्तिहरूबीच समन्वय रहने जनाइएको छ।