विराटनगर । जेसिजका युवाहरूले काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहसँग सौहार्दपूर्ण भेटघाट गरेका छन्। भेटघाटका क्रममा देशको आगामी विकास, युवाको भूमिका र नेतृत्वबारे विचार–विमर्श गरिएको थियो।
उक्त भेटघाटमा नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष (सिनेटर) महेश पौडेल, निवर्तमान नेपाल जुनियर जेसिज संयोजक जेसी रिकेश भण्डारी तथा निवर्तमान राष्ट्रिय जुनियर जेसिज क्षेत्र ‘क’ संयोजक जेसी गौरव कर्णसहित जुनियर जेसिजका युवाहरूको उपस्थिति रहेको थियो।
भेटघाटका क्रममा बालेनले युवाहरूको सोच, सक्रियता र नेतृत्व क्षमताले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै सकारात्मक परिवर्तनका लागि युवाहरू अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका थिए। जेसिजका युवाहरूले पनि देश विकासका विभिन्न विषयमा आफ्ना सुझाव र अनुभव साझा गरेका थिए।