सोनु साह
विराटनगर । नेपाली जनता विगतदेखि नेताहरूबाट ठगिँदै आएको महसुस गर्दै आएका छन्। यद्यपि पछिल्ला वर्षहरूमा बारम्बार ठगीनुपर्छ भन्ने मान्यता नागरिकबाट हट्दै गएको पनि देखिन्छ । अब नेताभन्दा पनि जनतामा चेतना आवश्यक भएको जनधारणा बलियो बन्दै गएको छ।
विगतमा नेताहरूले ठूला–ठूला विकासका योजना, आकर्षक भाषण र झूटा घोषणामार्फत जनतालाई भ्रममा पारेर भोट लिने गरेको आरोप लाग्दै आएको छ। तर अहिले त्यो प्रवृत्तिको अन्त्य हुँदै गएको देखिन्छ। जनताले नेतासँग प्रश्न गर्न थालेका छन् र विगतमा गरेका कामको हिसाब–किताब खोज्न थालेका छन्। यही सन्दर्भमा मोरङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत कोचाखाल (कौचा गाउँ) पुगेको ओबीका सञ्चारकर्मीको टोलीले स्थानीयवासीसँग गाउँको विकास, समसामयिक समस्या र चुनाव केन्द्रित विषयमा संवाद गरेको थियो। स्थानीयवासीहरूले विगतमा निर्वाचित प्रतिनिधिहरूको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
कौचाखालका स्थानीय फुदन यादवले विगतको दलगत राजनीतिबाट आफूहरू पीडित भएको बताए। “पुरानालाई धेरै पटक हेरियो, तर किसानका लागि केही भएन,” उनले भने, “यसपटक नयाँलाई रोज्छौं, नत्र राजा नै आउनुपर्छ।” त्यस्तै, क्षेत्र नम्बर ६ कै हरीनारायण यादवले सुकुम्बासीका समस्याप्रति कुनै पनि नेताले चासो नदेखाएको गुनासो गरे। निर्वाचित भएर गएपछि नेताहरू गाउँमा फर्केर समेत नआएको उनले बताए। स्थानीय एक महिलाले नेताहरूले सधैं झूटा आश्वासन मात्र दिने गरेको बताइन्। “जमिन दिन्छु, घर बनाइदिन्छु भन्ने गर्छन्, तर चुनाव जितेपछि हामीलाई हेर्न पनि आउँदैनन्,” उनको भनाइ छ।
श्रवण् यादवले यसपटक मत परिवर्तन गर्ने समय आएको बताए। “अब शिक्षित र योग्य व्यक्तिलाई मतदान गर्नुपर्छ,” उनले भने । विराटनगर–५ विशाल चौकीकी सावित्री मुखियाले यसअघि निर्वाचित प्रतिनिधि शेखर कोइरालाबाट अपेक्षित विकास हुन नसकेको गुनासो गरिन्। उनका अनुसार वर्षायाममा पानीको निकास नहुँदा गाउँ डुबानमा पर्ने समस्या अझै समाधान भएको छैन। बजेट विनियोजन भए पनि नालाको काम ढिलासुस्तीमा रहेको उनले बताइन्।
विराटनगर महानगरपालिका वडा नम्बर ५ अन्तर्गत पर्ने कौचा गाउँ विकासको दृष्टिले निकै पछि परेको देखिन्छ। गाउँको मुख्य बाटो धुलाम्य छ भने नालाको अवस्था दयनीय छ। स्वास्थ्य र शिक्षाको अवस्था पनि अस्तव्यस्त रहेको स्थानीयको भनाइ छ। तीन तहका सरकार रहे पनि स्थानीयवासीले विकासको अनुभूति गर्न नपाएको गुनासो छ। नेताहरूले गाउँलाई केवल ‘भोट बैंक’ को रूपमा प्रयोग गर्दै आएको आरोप स्थानीयहरूले लगाएका हुन्।