विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजको आयोजनामा शुक्रबार दोस्रो एचडीसी अन्तर–कलेज सेफ प्रतियोगिता सम्पन्न भएको छ। कलेज परिसरमा आयोजित प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूले आफ्नो पाककला सीप प्रस्तुत गरेका थिए।




प्रतियोगितामा सुन्दरहरैँचास्थित सुकुना सेकेण्डरी स्कुल प्रथम भएको छ भने सुन्दरहरैँचाकै सिद्धार्थ सेकेण्डरी स्कुल दोस्रो र विराटनगरको सेन्ट जोसेफ सेकेण्डरी स्कुल तेस्रो भएको छ। त्यस्तै, उत्कृष्ट प्रदर्शनकर्ता (बेस्ट परफर्मर)को उपाधि ब्राइट फ्युचर सेकेण्डरी स्कुलकी इटुसा लिम्बुले हात पारिन्।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन्। कलेज प्रमुख भरत सापकोटाका अनुसार प्रतियोगितामा मोरङका ११ वटा कलेजबाट ४४ जना विद्यार्थी सहभागी भएका थिए। प्रत्येक कलेजबाट चार–चार जना विद्यार्थीको समूहले प्रतिस्पर्धा गरेका थिए।




प्रतियोगिताको निर्णायकमा मास्टर सेफ विपिन नेपाल र सेफ सन्तोष सुवेदी रहेका थिए। प्रतियोगितामा विद्यार्थीहरूले स्थानीय सामग्रीको प्रयोग गरी विविध र सिर्जनात्मक परिकारहरू तयार गरेका थिए।निर्णायक सेफ विपिन नेपालका अनुसार स्वाद, प्रस्तुति, सिर्जनशीलता तथा समय व्यवस्थापनलाई मूल्याङ्कनको मुख्य आधार बनाइएको थियो।
कलेज प्रमुख सापकोटाले हस्पिटालिटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउने र व्यवहारिक अनुभव प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले विद्यार्थीहरूले प्रस्तुत गरेको कौशल र सिर्जनशीलता अत्यन्त प्रभावशाली रहेको उल्लेख गरे। यस प्रतियोगितामा मोरङका पाँचसहित ११ विद्यालयको सहभागिता रहेको थियो।