काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताईन् ।उनले भनिन,‘नागरिकले आफ्नो सरकार तपाईंहरुको अनुहार र व्यवहारमा देख्नेछन् । तपाईको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने छन् । त्यसैले तपाईहरुले सधैँ सम्झिनु होला कानूनभन्दा माथि कोही पनि छैन् तर कानून कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरुमा शिष्टचार र मानवताको धारणा पनि हुनुपर्छ । न्यायको यात्राको प्रथम ढोका नै तपाईहरु हो ।’यस्तै, उनले अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक भयो भने मात्र कानूनको सहि कार्यान्वयन सम्भव हुने भन्दै यो कुरा न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा नजिकबाट देखेको बताईन् ।
उनले भनिन्, ‘न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा मैले नजिकबाट देखेको छु । कानूनको सहि कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक हुन्छ ।’
सोही क्रममा गृहमन्त्री ओम प्रकाश अर्यालले आज लिएको सपथका शब्दहरुलेसधैँ जिम्मेवारी बोध गराइ रहने विश्वास व्यक्त गरेका छन् ।
अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण, व्यवहार, शिक्षा, कला र कौशल सबै प्राप्त गरेर सपथ ग्रहणको तहसम्म पुगेको पनि उनको भनाई छ ।उनले भने, ‘आज तपाईहरुले लिनु भएका सपथका शब्दहरुले तपाईहरुलाई सधैँ जिम्मेवारी बोध गराइ रहने छ भन्ने विश्वास लिएको छु । सपथका शब्द र मर्म तपाईहरुको व्यवहार मार्फत सार्थक बनोस, अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण व्यवहार शिक्षा कला र कौशल तपाईहरुले प्राप्त गरि सक्नु भएको छ ।’