काठमाडौँ । दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेकोे ‘निर्वाचन परिचालन समिति’ ले सातै प्रदेशमा पार्टीको अवस्था बुझ्न नेताहरूलाई खटाएको हो । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार पार्टीले तोकेका केन्द्रीय प्रतिनिधिले सम्बन्धित प्रदेश भित्रका जिल्लामा पार्टीको अवस्था बुझ्ने र आवश्यक विषयमा केन्द्रीय तहमा समन्वय गर्ने छन् । उनका अनुसार कांग्रेसले कोशी प्रदेशका ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाएको छ । कोशीमा संग्रौलासँगै निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बालाई खटाइएको छ । कोशीका संखुवासभा, तेह्रथुम भोजपुर, धनकुटा, मोरङ र सुनसरीमा नेताहरु अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझी खटिएका छन् ।
यस्तै सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सिराहा र सप्तरीमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी खटिएका छन् । यसैगरी बागमती प्रदेशका धादिङ, रसुवा, नुवाकोट र काठमाडौंका लागि बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ । यस्तै काभ्रेपलाञ्चोक, सिन्धुली, ललितपुर र मकवानपुरमा जीपछिरिङ लामा, हरिशरण नेपाली, उर्मिला थपलिया, उमा दाहाल र गीता सत्याललाई खटाइएको छ । भक्तपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र चितवनमा अर्जुननरसिंह केसी, दीलमान पाख्रिन, धना खतिवडा, मधुराप्रसाद घिमिरे र धर्मराज गौतम खटिएका छन् । यस्तै गण्डकी प्रदेशको पर्वत, म्याग्दी, मुस्ताड र बागलुङका लागि चीनकाजी श्रेष्ठ, मनकुमारी गुरुड, कृष्णबहादुर केसी र चिनु पोखरेल खटिएका छन ।
यस्तै स्याङ्जा, कास्की, मनाङ र नवलपुरका लागि ध्रुव वाग्ले, जगदीशचन्द्र उपाध्याय, मनकुमारी गुरुङ, किरणराज शर्मा पौडेल खटिएका छन् । यस्तै गोरखा, लमजुङ र तनहुँका लागि अब्दुल सत्तार, रेशम बानियाँ, शारदा पौडेल र सरस्वती अर्याल तिवारी खटिएका छन् । लुम्बनी प्रदेशको रुपन्देही, पाल्पा, नवलपरासी र गुल्मीका लागि डा गोपाल दहित, गहेन्द्र गिरी, प्रदीप शर्मा र राजेन्द्रगोपाल सिंह खटिएका छन् । यस्तै कपिलवस्तु, अर्घाखाँची, रूकुम पूर्व, प्यूठान र रोल्पाका लागि कृष्णकिशोर घिमिरे, मैकुलाल वाल्मिकी, छन्दबहादुर पहराई र केशव आचार्य रहेका छन् ।
दाङ, बाँके र बर्दियाका लागि चन्द्रबहादुर केसी, कमलप्रसाद भुसाल राधेश्याम पाठक र रंगमती शाही खटिएका छन् । यस्तै सुदूरपश्चिम प्रदेशको कन्चनपुर, बैतडी, दार्चुला र बझाङका लागि हिमबहादुर रावल, निपा चोख्पाल र विद्यादेवी तिमिल्सिना खटिएका छन् । कैलाली र डडेलधुराका लागि जगतप्रसाद जोशी, सुनिता राना, डा रणबहादुर रावल र नृपबहादुर वड खटिएका छन् । डोटी, अछाम र बाजुराका लागि नरेन्द्र भट्ट, सम्झना खत्री र सुशिला मिश्र भट्ट खटिएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ ।