टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्र लगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याइरहेको धारणा व्यक्त गरेका छन् ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।
‘आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पूँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना साकार पार्न थप योगदान दिनुहुनेछ भन्ने मैले अपेक्षा गरेको छु’, राष्ट्रपति पौडेलले भने ।
उनले जापानमा विभिन्न पेशा र क्रियाकलापमा आवद्ध नेपाली समुदायको हित, चासो र सरोकारलाई सम्बोधन गर्न र आईपरेका समस्याको समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।
उनले नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अङ्गिकार गरेसँगै मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने मार्गमा उच्च गतिका साथ अघि बढाउन आवश्यक रहेको बताए ।
राष्ट्रपति पौडेलले राज्य सञ्चालनमा पारदर्शिता जवाफदेहिता, सहभागिता एवम् विधिको शासनलाई केन्द्र भागमा राखेर जनमानसमा प्रभावकारी सेवा प्रवाहको प्रत्याभूति हुनुपर्नेमा जोड दिए ।
‘नेपालमा भएको युवा पुस्ताको आन्दोलनबाट सुशासनको माग अझै मुखरित भएको छ, यसै अनुरुप जनताको सर्वोपरी हित रक्षा गर्दै सुशासन मार्फत देशको समृद्धिका लागि आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुन गइरहेको छ, यो निर्वाचन पछि मुलुकमा स्थायित्व र विकासको थप नयाँ सम्भावनाहरू खुल्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने ।
उनले आसन्न निर्वाचन सफल बनाउन विदेशमा रहेका नेपालीले आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव एउटा ऐतिहासिक क्षण भएको बताउँदै उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेकाले औद्योगिक विकास, कृषि, जलविद्युत, पूर्वाधार लगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी थप लाभान्वित हुन सक्ने बताए ।
‘द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौं, हामी उहाँहरूलाई सुरक्षित व्यावसायिक वातावरण प्रदान गर्न कटिवद्ध छौं, यहाँका लगानीकर्ताहरू माझ यो सन्देश पु¥याउन म तपाईहरूलाई आग्रह गर्दछु’, राष्ट्रपति पौडेलले भने ।
नेपाल र जापानबीच गौतम बुद्धको शिक्षाबाट प्रेरित गहिरो सामाजिक–सांस्कृतिक सम्बन्ध रहिआएको र बुद्धको जन्मस्थल लुम्बिनीले नेपालप्रतिको आकर्षणलाई बढाएको उनको भनाई थियो ।