प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ

<span class='c1'>प्रधानमन्त्री कार्कीले भन्छिन्–अनुशासन, राष्ट्रप्रेम र</span> <span class='c2'>नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ</span>

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार श्री राष्ट्रिय सेवा दल मध्य तालिका शिक्षालयद्वारा आयोजित वार्षिक सामूहिक क्याम्प दीक्षान्त कवज कार्यक्रममा सम्बोधन गर्दै उनले राष्ट्रिय सेवा दलको तालिमले युवालाई जिम्मेवार नागरिक बनाउने महत्वपूर्ण भूमिका खेलेको बताइन्।

प्रधानमन्त्री कार्कीले क्याडेट छात्रछात्रालाई सम्बोधन गर्दै तालिमले आधारभूत सुरक्षा, सैनिक कला, समसामयिक विषयको ज्ञान, साथै नेपालको भूगोल, भाषा, संस्कृति र इतिहासलाई नजिकबाट बुझ्ने अवसर दिएको उल्लेख गरिन्। यसले नेतृत्व क्षमता, सामूहिकता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने उनको भनाइ थियो । कार्यक्रममा प्रस्तुत गरिएको कवज अभ्यासको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले क्याडेटहरूमा देखिएको अनुशासन, लगनशीलता र आत्मविश्वासले उन्नत समाज निर्माणमा युवाको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

उनले दीक्षित क्याडेटहरूलाई अनुशासनलाई जीवनशैली बनाउँदै दैनिक जीवन, अध्ययन, पेशा र समाज सेवामा निरन्तर अभ्यास गर्न आग्रह गरिन्। प्रधानमन्त्री कार्कीले राष्ट्रप्रेम भावनामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताउँदै इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिकका रूपमा अघि बढ्न क्याडेटहरूलाई आग्रह गरिन्। उनले विपद् तथा संकटका समयमा अग्रपंक्तिमा उभिएर उद्धार, राहत र सेवा कार्यमा स्वेच्छिक रूपमा सहभागी हुन पनि अनुरोध गरिन्।

उनले नैतिकता, चरित्र र इमान्दारीलाई प्राथमिकता दिँदै सीप, शिक्षा र आत्मविकासमा निरन्तर लागिरहन युवालाई प्रेरित गरिन्। ‘आफू सक्षम नभई समाज र देशलाई योगदान दिन सकिँदैन,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीका अनुसार राष्ट्रिय सेवा दलले नेपाल सरकारको नीतिअनुसार हरेक वर्ष क्याडेट छात्रछात्राको संख्या बढाउँदै दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत तालिम सञ्चालन गर्दै आएको छ। यस आर्थिक वर्षमा देशभरका २५७ विद्यालयबाट ७ हजार ७ सय १० क्याडेट छात्रछात्रालाई तालिम प्रदान गरिएको छ, जसमा सिनियर डिभिजनतर्फ १ हजार ८० र जुनियर डिभिजनतर्फ ६ हजार ६ सय ३० जना रहेका छन्।

हालसम्म करिब ९० हजार युवाले राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसका लागि नेपाली सेना र राष्ट्रिय सेवा दल परिवारलाई धन्यवाद दिइन्। साथै, आगामी दिनमा तालिमको दायरा अझ विस्तार गरिने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रमको अन्त्यमा उनले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार, विद्यालय, शिक्षक, अभिभावक तथा दीक्षित सम्पूर्ण क्याडेट छात्रछात्रालाई धन्यवाद तथा शुभकामना व्यक्त गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्