काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।
आदिवासी जनजाति आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाई समावेशितालाई सुदृढ गर्ने भएकाले सबैलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरे । उनले भने, ‘लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण अवसर हो । लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने छ । निर्वाचनले नागरिकलाई राज्यको समान हिस्सेदारको रुपमा अनुभूत गराउने काम गर्ने विश्वास लिएका छौं ।’
उनले प्रत्येक नागरिकले आफ्नो पहिचानलाई सम्मानित र अधिकारलाई सुनिश्चित भएको अनुभूति गरे मात्रै समावेशी लोकतन्त्रको सार्थकता पुष्टि हुने उल्लेख गरे । साथै, लोकतन्त्रलाई जीवन्त राख्न र समावेशितालाई बलियो बनाउन समेत निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।