विराटनगर । मोरङमा मदिराका थोक बिक्रेताले गोर्खा ब्रुअरी प्रा.लि.का उत्पादनको बिक्री रोक्ने निर्णय गरेका छन् । मार्जिनमा कुरा नमिल्दा आगामी फागुन ७ गतेबाट यो कम्पनीले उत्पादन गर्दै आएका सबै ब्राण्ड बिक्री नगर्ने भएका हुन् ।
मदिरा व्यवसायी संघ मोरङका सचिव अशोक भण्डारीका अनुसार मोरङका १६० जना व्यवसायीको भेला बुधबार आयोजना गरिएको छ । जुन भेलाबाट गोर्खा ब्रुअरीका कुनैपनि उत्पादनको माग नगर्ने र बिक्री पनि नगर्ने औपचारिक निर्णय गरिने भएको छ । सचिव भण्डारीका अनुसार दुईवर्ष यता यो कम्पनीका उत्पादन बिक्री गर्दा ५ प्रतिशत मार्जिन माग गरिदै आएको थियो । कम्पनीले ३ प्रतिशत भन्दा बढाएको छैन । व्यवसायीले बिक्री आयकर वापत ४ प्रतिशत बुझाउनु पर्ने बाध्यता रहँदा समेत कम्पनीले सम्बोधन नगरेको आरोप छ ।
कम्पनीले आफ्ना उत्पादनको माग त्यसै भइहाल्छ भनेर थोक बिक्रेतालाई हेपिरहेको व्यवसायीको भनाई छ । तर, मार्जिन नबढाएमा यसको बिक्री रोक्ने तयारी फागुन १ गतेबाटै सुरु गरिसकिएको सचिव भण्डारीको दावी छ । अहिले गोर्खा ब्रअरीको कुनैपनि उत्पादन थोक बिक्रेताहरुले मगाउन छोडेका छौं, सचिव भण्डारीको दावी अनुसार फागुन ७ गतेबाट होटलहरुमा पुगे बाहेक बिक्री हुनेछैन ।
गोर्खा ब्रअरीका प्रिमियर ब्राण्डमा काल्सबर्ग, टुबोर्ग, गोर्खा, सानमिगल रहेका छन् । त्यस बाहेक एप्पल साइडर समेत उत्पादन गरेर बजारमा पठाउँदै आएको छ । व्यवसायीले होलि नजिक आएपछि कम्पनीसँग मार्जिन बार्गेनिङ्ग पावर बढाउन उत्पादन रोक्ने तयारी गरेको बुझिएको छ ।