काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुषाल गौतमले महिला हकहित र जेन–जीको आवाज संसदमा पुर्याउन पार्टीले नानू बास्तोलालाई उम्मेदवार बनाएको बताएकी छिन् ।
काठमाडौँ क्षेत्र नम्बर ९ की कांग्रेस उम्मेदवार बास्तोलाको प्रचारप्रसारका क्रममा उनले महिला हित र जेन–जीको आवाज पुर्याउन नानू नै उपयुक्त उम्मेदवार भएको बताइन् । उनले भनिन्, ’बेरोजगारी, हिंसा र विभेदलाई घटाउँदै महिला दिदीबहिनीहरूको श्रमलाई राष्ट्रिय आयसँग जोड्न र बलियो अर्थतन्त्र बनाउने नीति कांग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा ल्याएको छ । कांग्रेस एक्लै चुनाव लड्ने र निर्णायक ठाउँमा महिला उम्मेदवारहरू बढीभन्दा बढी उठाउने प्रतिबद्धता व्यक्त गर्दछु । यो क्षेत्रमा नानू बास्तोलाको जित सुनिश्चित भएको हुँदा उहाँ एक विकासप्रेमी लोकप्रिय र सुशासनको पक्षधर नेता भएकाले अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
उपसभापति भुषालले जेन–जी पुस्ताले राखेका सबै माग जायज भएको तर उनीहरूको नामबाट भदौ २४ गते भएको विध्वंश भने सधैँ निन्दायोग्य रहेकोसमेत बताइन् । उनले निर्वाचन पश्चात् कांग्रेसले सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणसँगै ध्वस्त संरचना पुनःनिर्माण गर्ने पूर्ण प्रतिबद्धतासमेत व्यक्त गरेकी छिन् ।
उनले महिला दिदीबहिनीहरूलाई आह्वान गर्दै भनिन्,’दिदीबहिनीहरूले त्यो ध्वस्त संरचनाको खरानीको टीका आफ्नो निधारमा टाँसी हामी द्वन्द्व होइन शान्ति र सुशासनको पक्षमा छौँ भन्दै नेपाली कांग्रेसको प्रचारप्रसारमा लाग्न अनुरोध गर्दछु।’