काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज शनिबार मधेस प्रदेशका चार जिल्लाका चुनावी सभामा सम्बोधन गर्ने भएका छन् । उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् । योे क्रममा रोड शोमा पनि सहभागी हुने सभापति थापाको सचिवालयले जनाएको छ ।
त्यस्तै सभापति थापाले आइतबार फागुन १७ गते काठमाडौँ उपत्यकामा हुने कार्यक्रममा सम्बोधन गर्नेछन् । गत फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि फागुन ७ गते काठमाडौँको राष्ट्रिय सभागृहमा प्रतिज्ञा पत्रबारे चर्चा गर्दै प्रतिज्ञा पत्रबारे उठेका प्रश्नको जवाफ दिएका थिए । सभापति थापाले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यस्तै सभापति थापाले शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा भएको चुनावी सभालाई सम्बोधन गरेका थिए ।
बुटवलको सभामा उपसभापति पुष्पा भुषाल गौतम पनि थिइन् भने पोखराको सभामा उपसभापति विश्वप्रकाश शर्मा रहेका थिए । शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् । उपसभापति शर्मा आज तीन जिल्ला घुम्ने कार्यक्रम रहेको छ । शुक्रबार पोखरामा बसेका उपसभापति शर्मा शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि डोल्पा जानेछन् । डोल्पाबाट अछाममा दुई ओटा कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभापतिको सचिवलायले जनाएको छ ।
आजै साँझ उपसभापति शर्मा काठमाडौँ फर्कने छन् । सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेव गएका छन। दिउँसो १ बजे डोल्पाको जुफाल, २ बजे अछामको साँफेबगर, ३ः१५ बजे अछामको कमलबजार जानेछन् भने अपरान्ह ४ः२० बजे कमलबजारबाट काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।