विराटनगर । नेपाली कांग्रेस मोरङका अग्रज नेता तथा विराटनगर महानगरपालिका–१६ का निवर्तमान वडाध्यक्ष मनोज सुब्बा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
उनीलाई रास्वपा मोरङ क्षेत्र नं.–५ की प्रतिनिधिसभा उम्मेदवार आशा झाले पार्टीको चुनाव चिह्न ‘घण्टी’ अंकित ब्याज लगाएर स्वागत गरेकी थिइन्। पार्टी प्रवेश कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको जनाइएको छ।
सुब्बाले लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहँदै वडाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। रास्वपामा प्रवेशसँगै उनले नयाँ राजनीतिक यात्राको सुरुआत गरेको बताएका छन्।
कार्यक्रममा बोल्दै उम्मेदवार झाले सुब्बाको अनुभव र जनसम्पर्कले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिन्। उनले आसन्न निर्वाचनमा मतदाताको साथ र समर्थन प्राप्त हुने दाबी पनि गरिन्।
यसअघि पनि विभिन्न राजनीतिक दल परित्याग गरी उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरिसकेको पार्टीले जनाएको छ।