हाम्रो राम्रो बिराटनगर महानगरपालिकमा केही दिनअघि बाहिरबाट आएका कथित स्क्यामरले गर्दा चर्चा पायो । केही दिन सामाजिक सञ्जाल तात्यो, पत्रकारिता सक्रिय भयो, प्रशासन चलायमान भयो र नगरबाशी सबैले एउटै स्वरमा भने—"यस्तालाई हाम्रो सहरमा ठाउँ छैन सबै लागे धपाय। यो राम्रो कुरा हो।एक्ता नै बिराट्नगर हो तर एउटा प्रश्नले भने मनलाई अझै पनि पोलिरहन्छ।
बाहिरबाट आएका केही मानिसहरूलाई चिन्न हामीलाई केही दिन लाग्यो, तर दशकौँदेखि यही सहरको माटो टेक्दै, विभिन्न मुखुण्डो, आडम्बर र प्रभावको आवरण ओढेर विराटनगरलाई भित्रभित्रै धमिराले काठ खाएझैँ खोक्रो बनाइरहेका प्रवृत्तिलाई किन हामीले कहिल्यै देखेनौँ ? कि देखेर पनि नदेखेजस्तो गरिरहेका छौँ ? किन बोलदैनौउ ?किन मिलेर एक्ताबद्ध भयेर लखेटदैनौ ?
हामीलाई बाहिरको शत्रु चिन्न सजिलो लाग्छ, तर घरभित्रको धमिरा चिन्न गाह्रो हुन्छ। किनकि धमिराले आवाज गर्दैन। उसले विस्तारै खान्छ, तर अन्त्यमा पूरै संरचना ढालिदिन्छ। समाज पनि त्यही अवस्थामा पुग्छ, जब गलत काम गर्नेहरू अपराधीभन्दा प्रभावशाली देखिन थाल्छन्, र इमानदार मानिसहरू कमजोर ठहरिन थाल्छन्। त्यो दिनदेखि पतन सुरु भइसकेको हुन्छ।
आज पनि केही मानिसहरू विभिन्न आवरणमा छन्। मुखमा समाजसेवा, व्यवहारमा स्वार्थ। भाषणमा नैतिकता, कर्ममा अवसरवाद। बाहिर विनम्रता, भित्र अहंकार। बिरालोको पञ्जा बोकेर आफूलाई बाघ सम्झिने, सिंहको गर्जन सापटी लिएर आफूलाई सहरको राजा ठान्ने मानसिकता कुनै व्यक्तिको मात्र समस्या होइन, यो समाजको रोग हो। यस्ता मानिसहरूलाई लाग्छ—धनले सबै किन्न सकिन्छ, शक्तिले सबै झुकाउन सकिन्छ, प्रभावले सबै चुप गराउन सकिन्छ। तर उनीहरूले एउटा कुरा बिर्सन्छन्—मानिसको मुख बन्द गराउन सकिएला, समयको मुख कहिल्यै बन्द गराउन सकिँदैन।
ठूला महल बनाउनु सफलता होइन। चिल्ला गाडी चढ्नु प्रतिष्ठा होइन। वरिपरि चाटुकारहरूको भीड हुनु सम्मान होइन। ती सबै क्षणिक प्रदर्शन हुन्। वास्तविक उचाइ मानिसको चरित्रले नापिन्छ, बैंक ब्यालेन्सले होइन। समयले धेरैलाई महलको छतबाट भुइँमा झारेको इतिहास छ। किनकि समय कसैको नोकर होइन। समय न कसैसँग डराउँछ, न कसैको प्रभावमा पर्छ। ऊ चुपचाप हेर्छ, अवसर दिन्छ, चेतावनी दिन्छ, र अन्तिममा न्याय गर्छ।
मान्छे भएर जन्मिएपछि आफ्नै कर्मको हिसाब यही जीवनमै तिर्नुपर्छ। यो धार्मिक विश्वास मात्र होइन, जीवनको अनुभवले प्रमाणित गरेको सत्य हो।येथार्त हो ? जसले जे रोप्छ, उसले त्यही काट्छ। आज रोपिएको छल, भोलि अविश्वास बन्छ। आज रोपिएको घमण्ड, भोलि अपमान बन्छ। आज रोपिएको अन्याय, भोलि एक्लोपन बन्छ। कर्मको हिसाबमा कुनै सिफारिस चल्दैन, कुनै पहुँच लाग्दैन, कुनै शक्ति टिक्दैन।
गलत बाटो सधैँ आकर्षक देखिन्छ। कुकर्म सधैँ चम्किलो देखिन्छ। त्यसले मानिसलाई छिट्टै सफलता, छिट्टै धन, छिट्टै शक्ति र छिट्टै प्रसिद्धिको सपना देखाउँछ। धेरै मानिस त्यही चमकमा मोहित हुन्छन्। सुरुमा उनीहरूलाई लाग्छ "यही बाटो ठीक रहेछ।" तर त्यो बाटो सडक होइन, दलदल हो। दलदलमा उभिँदा सुरुमा केही हुँदैन जस्तो लाग्छ, तर प्रत्येक पाइला गहिरिँदै जान्छ। एक दिन फर्किन खोज्दा खुट्टा नै निस्कँदैन। त्यतिबेला पछुतो हुन्छ, तर धेरै ढिलो भइसकेको हुन्छ।
एउटा अंग्रेजी भनाइ छ—"The best swimmer dies in the water." यसको अर्थ गहिरो छ। जसलाई आफ्नो क्षमता, पहुँच, शक्ति वा चतुराइप्रति अत्यधिक घमण्ड हुन्छ, उसैको घमण्ड उसको सबैभन्दा ठूलो शत्रु बन्छ। किनकि घमण्डले मानिसबाट वास्तविकता देख्ने आँखा खोसिदिन्छ। त्यसपछि उसलाई लाग्छ—"मलाई कसैले छुन सक्दैन।" तर इतिहासले कहिल्यै येस्तो मानिस जन्माएको छैन।
मुखुण्डो जति राम्रो भए पनि पसिना लागेपछि खस्छ। आडम्बर जति ठूलो भए पनि समयले भत्काउँछ। पैसा जति धेरै भए पनि अन्तिम रात निद्रा किनेर ल्याउन सक्दैन। प्रभाव जति ठूलो भए पनि अन्तरात्माको अदालतमा वकिल बन्दैन। भीडले ताली बजाउन सक्छ, तर चरित्रको प्रमाणपत्र दिन सक्दैन।
जीवनको अन्तिम हिसाबमा मानिससँग न पद जान्छ, न शक्ति, न सम्पत्ति, न महल, न चिल्ला गाडी। जाने एउटै कुरा हो—उसको कर्मको कथा। त्यसैले प्रश्न अरूलाई होइन, आफूलाई सोधौँ। हामी मुखुण्डो बनाउँदै छौँ कि चरित्र ? आडम्बर कमाउँदै छौँ कि सम्मान ? क्षणिक चमक खोज्दै छौँ कि दीर्घकालीन इज्जत र सम्मन ?
किनकि अन्तिममा समयले सबैको परिचय गराउँछ। समय ढिलो हुन सक्छ, तर अन्धो हुँदैन। कर्म मौन हुन सक्छ, तर कमजोर हुँदैन। सत्य लुक्न सक्छ, तर हार्दैन।त्यसैले आज पनि समय छ। मुखुण्डोभन्दा चरित्र ठूलो बनाऔँ,आडम्बरभन्दा इमानदारी रोजौँ, र प्रभावभन्दाउत्तरदायित्वलाई महत्व दिऔँ।
किनकि अन्तिम फैसला कुनै भीडले गर्दैन, कुनै पदले गर्दैन, कुनै सम्पत्तिले गर्दैन। अन्तिम फैसला सधैँ कर्मले गर्छ। कर्मको अदालतमा न पहुँच चल्छ, न शक्ति, न मुखुण्डो। त्यहाँ न कुनै सिफारिस स्वीकार हुन्छ, न कुनै प्रभाव काम लाग्छ, न त कुनै अदालतझैँ पुनरावेदन (अपिल) गर्ने अधिकार नै हुन्छ। त्यहाँ न्याय ढिलो हुन सक्छ, तर अन्याय कहिल्यै हुँदैन। त्यसैले कर्म यस्तो गरौँ, जसको फैसला आउँदा टाउको झुकाउन होइन, गर्वका साथ उभिन सकियोस्।