विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको प्रतिष्ठित ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ अन्तर्गत सेमिफाइनल चरणका अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू सुरु भएका छन्। यस वर्षको सेमिफाइनल खेलहरू रोमाञ्चक ‘बेस्ट अफ थ्री’ढाँचामा खेलाइँदै छ, जसअनुसार फाइनलमा पुग्नका लागि टोलीहरूले तीनमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने प्रावधान रहेको छ। लिग चरणको समाप्तिपछि भदौ २२ र २३ गते बिहान सम्म सम्पन्न भएका सुरुवाती सेमिफाइनल खेलहरूमा साविक विजेता बीकेभीएम स्कुल (छात्र तथा छात्रा दुवै विधा) र अरनिको स्कुल (छात्र विधा) ले उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गराई श्रृंखलामा १-० को अग्रता लिन सफल भएका छन्।
भदौ २२ गते सोमबार बिहान बीकेभीएम स्कुलको कोर्टमा सम्पन्न छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली बीकेभीएम (BKVM) ले सेन्ट जोसेफ्स स्कुललाई ६७–४१ अङ्कको फराकिलो अन्तरले पराजित गरेको छ। पहिलो क्वाटरमा १४–१५ अङ्कको स्कोरले सेन्ट जोसेफ्स भन्दा थोरै पछि परेको बीकेभीएमले दोस्रो क्वाटरमा उत्कृष्ट पुनरागमन गर्दै १६–८ को अग्रता बनायो। त्यसपछिका तेस्रो र चौथो क्वाटरमा क्रमशः २२–१० र १५–८ को बलियो प्रदर्शन गर्दै बीकेभीएमले खेल पूर्ण रूपमा आफ्नो पक्षमा पारेको हो। खेलभरि उत्कृष्ट असिस्ट र आक्रामक प्रदर्शन प्रस्तुत गरेका बीकेभीएमका सन्तोष शाह ‘म्यान अफ दि म्याच’ घोषित भए।
सोही दिन अपराह्न ४:०० बजे बीकेभीएमकै कोर्टमा सम्पन्न छात्रातर्फको अर्को सेमिफाइनल भिडन्तमा पनि बीकेभीएम स्कुलले आफ्नो अपराजित यात्रा कायम राखेको छ। अत्यन्तै बलियो रक्षात्मक र सुझबुझपूर्ण खेल कौशल प्रदर्शन गरेको बीकेभीएमले एभरेस्ट स्कुललाई ३७–१८ को फराकिलो स्कोर अन्तरले स्तब्ध बनायो। बीकेभीएमले पहिलो क्वाटरमा १६–८ को अग्रता लिएको थियो भने दोस्रो क्वाटरमा ६–४, तेस्रो क्वाटरमा ९–८ र अन्तिम क्वाटरमा ६–२ अङ्क जोड्दै खेलमा पूर्ण नियन्त्रण कायम गर्यो। टोलीको यस जितमा महत्वपूर्ण योगदान पुर्याएकी बीकेभीएमकी समृद्धि उपाध्याय उत्कृष्ट प्रदर्शनका साथ ‘प्लेयर अफ दि म्याच’ को उपाधिबाट सम्मानित भइन्।
यसैगरी, भदौ २३ गते मङ्गलबार बिहान सगरमाथा स्कुलको कोर्टमा आयोजित छात्रतर्फको दोस्रो सेमिफाइनल खेलमा अरनिको स्कुलले उत्कृष्ट जित हासिल गरेको छ। घरेलु टोली सगरमाथा स्कुल विरुद्ध खेल्दै अरनिकोले ७४–४६ अङ्कको फराकिलो अन्तरले बाजी मार्यो। खेलको पहिलो क्वाटरमा १७–९ को अग्रता लिएको अरनिकोले दोस्रो क्वाटरमा २२–१० को भारी अग्रता थप्दै सगरमाथालाई ठूलो दबाबमा राखेको थियो। तेस्रो क्वाटरमा सगरमाथाले १७–१५ अङ्क बटुल्दै केही राम्रो प्रयास गरे पनि अन्तिम क्वाटरमा अरनिकोले २०–१० को शानदार स्कोर गर्दै जित सुनिश्चित गर्यो। अरनिको स्कुललाई शानदार जित दिलाउन असाधारण खेल प्रदर्शन गरेका आलोक यादव खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिए।
‘बेस्ट अफ थ्री’ को नियम अनुसार अब हुने दोस्रो लेगको खेलमा बीकेभीएम (छात्र तथा छात्रा दुवै श्रेणी) र अरनिको स्कुलले जित निकालेमा सिधै फाइनलको यात्रा तय गर्नेछन्। पराजित टोलीहरू सेन्ट जोसेफ्स, एभरेस्ट र सगरमाथालाई भने प्रतियोगितामा आफ्नो बलियो चुनौती कायम राख्न र फाइनलको आशा जीवित राख्न आगामी खेलहरूमा उत्कृष्ट पुनरागमनसहित जित्नैपर्ने दबाब सृजना भएको छ।