काठमाडौं । एक वर्षअघि भदौ २३ र २४ गते सडकमा उत्रिएर परिवर्तनको माग गरेका युवाहरु एक बर्षपछि सोही दिनलाई स्मरण गरिरहेका छन् । बढ्दो भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध सडकमा उत्रिएर जेनजी पुस्ताले गरेको आन्दोलन र त्यसपछिका एक वर्षलाई सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन् ।
जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदैगर्दा केही सर्वसाधारणले आशा जीवितै रहेपनि असन्तुष्टि भने व्यक्त गरेका छन् । उनीहरुले आन्दोलनको उद्देश्य पूरा हुन नसकेको बताए । आन्दोलनको बर्ष दिनका अवसरमा आयोजित जेनजी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रम क्षेत्र वानेश्वरमा भेटिएका राजकुमार भट्टराईले आमाको काख रित्तो बनाउने तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई आजीवन कारावास राख्नुपर्ने बताए । उनले कांग्रेस, एमाले र माओवादीको पछाडि नलागी बालेन्द्र शाहलाई साथ दिन आग्रह गरे ।
अर्की पेमा लामाले एक बर्षमा सोचेअनुसार परिवर्तन हुन नसकेको बताउँदै पार्टी पुरानो भएपनि नयाँ व्यक्तिहरु आएको बताइन । उनले राजनीतिक दलमात्रमा समस्या नभइ प्रबृत्तिमा समस्या रहेको औंल्याइन् । वानेश्वर क्षेत्रमा भेटिएका अर्का बोधविक्रम पन्तले हरेक आन्दोलनबाट नयाँ नयाँ पार्टी र नेता स्थापित भएपनि उद्देश्य पूरा नभएको बताए । उनले सरकारले बनाएका उच्च स्तरीय आयोगहरुले तयार गरेको प्रतिवेदन लुकाइने गरेको बताउँदै जेनजी आन्दोलनको उद्देश्य पूरा हुन नसकेको बताए ।