विराटनगर । विराटनगर भन्सार कार्यालयमा जाँचपासका क्रममा फेला परेको एउटा प्लाष्टिकको बन्दुक (प्लाष्टिक गन) प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भन्सार अधिकारीका अनुसार विषय सामान्य नै भएपनि यो गनमा उल्लेखित चेतावनीपूर्ण विवरणमा लोड भएको गोलीले लागेमा मान्छेको मृत्यु हुनसक्ने उल्लेख थियो ।
त्यसपछि यसको जाँचपास कसरी गर्ने भन्ने प्रश्न सिर्जना भएको हो । भन्सार एजेन्ट लिलाप्रसाद नेपालको क्लियरिङ्ग एजेन्ट नम्बर ५५९ बाट मालवस्तु जाँचपास हुने अन्य सामानसहित प्लाष्टिक गनको समेत फारम भरिएको थियो । तर, जाँचपास अधिकृत प्रविन लिम्बुले प्लाष्टिक गन के गर्ने भनेर भन्सार अधिकृत भीम आङदम्बे लिम्बुसँग सोधे । त्यसपछि उक्त सामान जाँचपास गर्न मिल्छ की मिल्दैन भनेर भन्सार कार्यालयले सुरक्षा संयन्त्रसँग राय मागेको थियो ।
तर, त्यो वस्तु जाँचपास गर्नु अगाडी त्यसको विषय अनुसन्धान गर्न भन्दै मोरङ प्रहरीले लिएको छ । मोरङका प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार कुन प्रयोजनका लागि भित्र्याइयो भनेर सोधपुछदेखि त्यसको प्रयोग कस्तो अवस्थासम्म हुनसक्छ भन्ने अध्ययनसम्म भइरहेको छ । विराटनगर भन्सार अधिकृत एवं सूचना अधिकारी डम्बरबहादुर बस्नेतले सामान्य सामान भएको बताए । उनले नयाँ गेमिङ्ग टुल्र्स भएको बताए । पब्जि, पेन्ट गन वा एयर गन जस्तै भएपनि त्यसमा प्लाष्टिकको गोली राख्न सकिने रहेको थियो ।
खेलौनाको रुपमा एकथान मात्रै सेम्पलको रुपमा ल्याएको सूचना अधिकारी बस्नेतको भनाई छ । आयातकर्ता काठमाण्डौंका हुन् । उनले यो एकपटक ल्याएर भन्सार पास हुन्छ हुन्न बुझ्न खोजेको जस्तो आशंका गरिएको छ । यद्यपी प्रहरीेले यस्तो वस्तु आयात गर्न नमिल्ने बताएको छ ।