विराटनगर । रसुवामा हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि श्री जैन श्वेताम्बर तेरापन्थी सभा, विराटनगरको पहलमा तेरापन्थी समाजले ५ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ।
तेरापन्थी समाजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। सहयोग रकम जम्मा गरेको भौचर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई हस्तान्तरण गरिएको थियो।
रकम हस्तान्तरण कार्यक्रममा श्री जैन श्वेताम्बर तेरापन्थी सभाका संयोजक मालचन्द सुराना, पूर्व अध्यक्ष विजयराज डागा र दिनेश गोल्छा, तेरापन्थ प्रोफेसनल फोरमका अध्यक्ष पंकज जैन, अणुव्रत समितिका महासचिव दिपेन्द्र दुगड़लगायत सभाका सदस्यहरूको उपस्थिति रहेको थियो।
सहयोग रकम संकलनमा विराटनगरका तेरापन्थी समाजसँगै तेरापन्थ महिला मण्डल, तेरापन्थ युवक परिषद्, तेरापन्थ प्रोफेसनल फोरम तथा अणुव्रत समितिको विशेष सहयोग रहेको जनाइएको छ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले प्राकृतिक विपद्का समयमा पीडितको राहत तथा उद्धारका लागि तेरापन्थी समाजले देखाएको मानवीय संवेदनशीलता र सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे।
प्राकृतिक विपद्का समयमा पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय धर्म भएको उल्लेख गर्दै तेरापन्थी समाजले आगामी दिनमा पनि आवश्यकताअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ।